बंगलादेशको मुख्य खाद्यान्न बाली धान हो । धान बंगलादेशको तटीय दक्षिणी क्षेत्रहरुमा फस्टाउँदो बाली हो । चक्रवात र बाढीले बंगलादेशको दक्षिणी भागमा ठूलो विपत्ति ल्याउने क्रममा धेरै किसानहरु बैकल्पिक आम्दानीको खोजिमा ढाकाजस्ता ठूला शहरहरूमा बसाइँ सर्ने गर्छन्। विश्व बैंकका अनुसार करिब १० करोड बंगलादेशीहरु हाल विदेशमा काम गरिरहेका छन्। यसको प्रभाव कृषि क्षेत्रमा प्रत्यक्ष रुपमा परेको छ जसले गर्दा ग्रामिण क्षेत्रमा कृषि श्रमिकको अभाव भएको छ ।
बंगलादेशमा मानव श्रम प्रयोग गरेर धान खेती गर्दा उत्पादन लागत एकदमै बढी हुन गयो । यसको बिकल्पको रुपमा कृषिमा यान्त्रिकरण शुरु भयो जसले कृषि श्रमिकको अभाव सम्बोधन गर्न मद्धत गर्यो । सामान्यतया एकजना कृषि श्रमिकले तीन हप्ता कडा श्रम गर्दा जति काम हुन्छ, कृषि यन्त्र प्रयोग गर्दा एक घण्टा जतिमा उक्त काम सम्पन्न गर्न सम्भव भयो । कृषि यन्त्रको प्रयोगले समयमात्र बचत गरेन, यसले कृषकहरूलाई अर्को बाली लगाउनका लागि आफ्नो खेतहरु तयार गर्न र ज्यालामा काम गर्ने मजदुरहरुमा निर्भरता समेत कम गर्यो । यद्यपि, कृषि यन्त्रको ब्यवस्था गर्न पूँजी आवश्यक पर्ने हुनाले साना किसानहरुले लगानी गर्न सम्भव थिएन त्यसैले यसको प्रयोगलाई सहज बनाउन निजी क्षेत्रलाई कृषि यन्त्रमा लगानी गर्न प्रोत्साहन गरियो ।
किसानहरुलाई समय र श्रमको बचत गर्न र प्रविधिमा पहूँच पुर्याउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यु.एस.ए.आई.डी.) द्वारा उपलब्ध रकम र एसिडिआई/भीओसीए भन्ने संस्थाद्वारा कार्यान्वयन गरिएको फिड द फ्युचर कार्यक्रम अन्तर्गत दुईवटा निजी क्षेत्रका कम्पनीहरुसँग साझेदारी गरियो । दक्षिणी बंगलादेशमा एक प्रमुख कृषि सामग्री आपूर्तिकर्ता कोनिका सीड कम्पनीले ग्रामीण क्षेत्रमा यान्त्रीकरण विस्तारका लागि मद्दत गर्न आफ्नो व्यवसाय मोडेलमा पुनर्विचार गर्यो । कोनिकाले मेसिनरी आपूर्तिकर्ता मेटल लिमिटेडको गतिविधिको समर्थन र वित्तिय सहयोग मार्फत दुईवटा धान रोप्ने र काट्ने मेशिन किन्यो जसलाई शाजालाल इस्लामिक बैंकबाट ऋण सहयोग प्राप्त भयो । अहिले किसानहरु जसले कोनिकाबाट बीउ खरीद गर्थे तिनीहरुले कृषि यन्त्र पनि भाडामा दिने ब्यवसाय शुरु गरेकोले किसानहरुले त्यहाँबाट कृषि यन्त्रको सुविधा समेत लिन थाले । एक स्थानीय धान किसानले भने – “धान रोप्न र काट्न हामीलाई दिनभरि लाग्ने काम अब मेशिनको सहयोगमा केही मिनेटमा पुरा गर्छौं”।
कोनिकाले एक प्रोत्साहन कार्यक्रम ल्यायो जस अनुरुप जुन किसानहरुले धान रोप्न र काट्न आफ्नो कम्पनीबाट मेशिन भाडामा लिन्छन तिनीहरुका लागि कृषि सामग्रीमा ३०% छुट दिने निर्णय गर्यो ।
कोनिकाले के पनि गर्यो भने जुन जुन किसानहरुले नगद रकमको सट्टा धान दिन चाहान्छन् तिनीहरुको जिन्सी अर्थात धान नै खरिद गरिदिने ब्यवस्था समेत मिलायो । यसले एकातिर किसानहरुले गुणस्तरिय बीउ पाए भने अर्कोतिर कृषि यन्त्रको प्रयोगबाट समयमै काम हुने र लागत पनि कम लाग्ने भयो । नगद नहुनेले धान नै ज्यालाको रुपमा समेत दिन सक्ने सुबिधा भयो । यस कार्यक्रममा एक वर्षमै १६००० किसानहरुले यो सेवा लिए । निजी क्षेत्रको यो ब्यवसायले एकातिर किसानहरुले प्रत्यक्ष फाईदा पाए भने अर्कोतिर निजी क्षेत्रको ब्यवसाय सुनिश्चित भयो । यसले कोनिका र किसानहरु बीचको दिगो सम्बन्ध सुनिश्चित गर्यो भने किसानहरुको धानको उत्पादकत्वमा समेत सुधार भयो ।
मेशिनको ब्यापार गर्ने मेटल कम्पनीले कोनिका मार्फत आफ्ना गतिविधिहरु जस्तै मेशिनहरुको सञ्चालन र मर्मत संभार तालिम उपलब्ध गरायो । कोनिकाको लागि सामानहरु बिग्रियो वा मर्मत संभार गर्नुपर्ने भयो भने कुनै समस्या भएन त्यो सेवा मेटल कम्पनीले दियो। कोनिकाले आफ्नो सेवा लिने किसानहरुलाई प्राविधिक सेवा पनि उपलब्ध गरायो जसबाट किसानहरुको धानको उत्पादन एवं उत्पादकत्वमा बृद्धि भयो । यसरी निजी क्षेत्रले किसानहरुलाई कृषि सामग्री, कृषि यन्त्र र प्राविधिक उपलब्ध गराए भने निजी क्षेत्रको ब्यवसाय पनि निरन्तर चल्यो ।
शुरुमा दुईवटा धान रोप्ने र काट्ने मेशिनहरुबाट शुरुवात गरेको ब्यवसाय बढाएर ६ वटा पुर्याउने लक्ष्य रहेको कोनिका सीड कम्पनीका प्रबन्ध निर्देशक नुर आलम लिटनले बताए ।
यी मेशिनहरुमा पहुँचका कारण किसानहरूले आफ्नो श्रम लागत ५० प्रतिशत घटाउन सफल भए भने उनीहरुको कूल आम्दानी पनि बढ्यो । धान काट्ने मेशिन कम्बाईन हार्भेष्टर भएकोले किसानहरुले धानका बोरा खेतबाटै उठाएर लैजान पाए जसले गर्दा काट्ने, झार्ने दाईं गर्ने आदि झंझटबाट मुक्त भए । कृषि यन्त्रको सहायताले खेतबाट धानको बोरा सोझै घरमा लैजान सजिलो भयो ।
निजी क्षेत्रका कम्पनीहरु र किसानहरुसंगको यो ब्यवसायिक एवं ब्यापारिक सम्बन्धले एकातिर धानको उत्पादन एवं उत्पादकत्वमा बृद्धि भैरहेको छ भने अर्कातिर समय बचत मात्र नभई खाद्य सुरक्षा समेत भएको छ ।
बंगलादेशको यो ब्यवसायिक मोडेललाई नेपालमा पनि लागु गर्न सकिन्छ । यसका लागि सरकारले निजी क्षेत्र मैत्री वातावरण एवं सहयोगका कार्यक्रमहरु बनाउनुपर्छ ।