ललितपुर। वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई बैंक खातमा रकम उपलब्ध गारउने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले दूध उत्पादन किसानलाई प्रतिफलमा आधारित उत्पादनलाई प्रोत्साहन गर्न बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिने बताए ।

यस्तै, ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’ नारालाई पूरा गर्न बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गरिन् उनले बताए । संघीय सरकारसँगको समन्वयनमा किसान परिचयपत्र वितरण गरिने पनि उनले बताए ।

त्यस्तै प्रदेश सरकारले वि.सं. २०८५ सम्म प्रदेशभित्र रहेको सबै कृषियोग्य भूमिमा १२ महिना सिँचाइ सुविधा पुर्‍याउने भएको छ ।

‘सिचाइ गरौँ, उत्पादन बढाऔँ’ अभियानअन्तर्गत परम्परागत राजकुलो ताल–तलैया र पोखरी संरक्षण र पुनःस्थापना गरी परम्परागत सिँचाइ सुविधा उपलब्ध गराइने उनले बताए ।

त्यस्तै, ‘किसानका गरा सधैँ हराभरा’ नारासहित सुक्खा टार लिफ्ट सिँचाइ आयोजनालाई निरन्तरता दिने र नारायाणी र खगेरी सिँचाइ आयोजनाको पम्प हाउस आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बताए ।