ललितपुर। पशुपालक कृषका लागि हटलाइन सेवा सुरु हुने भएको छ । कोभिड महामारीमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरु गर्न लागेको हो।
एसोसिएसनका अनुसार कृषकहरुको सहजताको लागि मंगलबारबाट ४ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरिनेछ । उक्त सेवा लिन कृषकले ११५९ डायल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्री नम्बरमार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि हटलाइन फोन सेवा सुरु गरिएको हो ।
पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थपकीय पक्ष सम्वन्धित समस्याहरुको समाधानका लागि आवश्यकताअनुसार टोल फ्री नम्बरबाट निःशुल्क विज्ञको परामर्श लिन सकिने र यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४सै घण्टा उपलब्ध गराइएको छ ।