आज फेरि कृषि सँग सम्बन्धित रहेर छलफल गर्न मन लाग्यो। मानव अस्तित्वको विकास सरी पुरानो इतिहास बोकेको कृषि लाई फर्केर हेर्ने हो भने विविध स्वरूप देख्न सकिन्छ। ढुङ्गे युग देखि आजको मोर्डन यानिकी आधुनिक खेति प्रविधि सम्म आइपुग्दा, कृषिले नया रूप लिगेको छ, धेरै परिवर्तन भएका छन्, ती परिवर्तनका पनि आफ्नै विशेषता अनि आवश्यकता छन्। उदाहरण कै लागि हेरौं, हरित क्रांति ! त्यसबेलाको तत्कालीन खाद्य संकटलाई निराकरण गर्न र मानव अस्तित्वलाई जीवन्त राख्न, हरित क्रांति गर्नु अपरिहार्य जस्तै नै थियो। तसर्थ, रासायनिक मल, कीटनाशक, बिषादी, नया उन्नत जातका बिउविजनका प्रयोग र कृषि एकै रथका दुई पाङ्ग्रा बनेका थिए। तर समय संगै अबस्था निर्मुल भए पश्चात, यस्ता चिजहरुको अत्यधिक प्रयोगलाई कम गर्दै जानुको सट्टा मानिसले यसलाई अब शिरोपण नै गरेका थिए र आज सम्म पनि अवस्था उस्तै छ। यस्ता रसायन, बिषादीले निम्त्याएका भयावह स्थिति सायद सबैलाई अवगत नै होला। त्यसैले त आज विश्व नै यस विषयमा ध्यानाकर्षित भएको छ। दीर्घकालीन रणनीतिहरुको खोज, अनुसन्धान र विस्तारमा लागिरहेछ। यसै सन्दर्भमा रहेर, एकिकृत खेति प्रणाली लाई जोड्न चाहे।
मलाई लाग्छ, एकिकृत खेति प्रणाली लाई बुझ्न त्यति गार्हो छैन। “एकिकृत” यो शब्द हामी सबैका लागि एक चिरपरिचित शब्द नै हो, हरेक हरफमा, हरेक कुराकानी, दैनिक गफगाफ, अन्तरवार्ता, अध्ययन अध्यापनको शिलशिलामा पटकपटक आइरहने शब्द हो। मात्र यसमा “खेति प्रणाली” शब्दको समागमले एउटा गमीलो शीर्षक बनाइदिएको छ। एकिकृत खेति प्रणाली सुन्दा जति सरल र स्पष्ट देखिएता पनि यसका सिद्धान्त, उद्देश्य उत्तिकै गहिरा र अर्थ पुर्ण छन्। कृषिमा थुप्रै खेति प्रणाली रहेता पनि यसलाइ नै चर्चाको विषय बनाउनु किन ? सबैलाई लागेकै होला। म मात्र के भन्छु भने, यो भनेको भात खाँदा तरकारी किन भने जस्तै हो, हो हामिले भात मात्र खान त सकौला तर कतिन्जेल रु आधुनिक कृषि प्रणालीले जरा गाड्दै गर्दा निम्तियका अनवरत नकारात्मक पक्षहरू र भावी सन्तति प्रतिको हाम्रो उत्तरदायित्व लाई शिरोपण गर्दै गर्दा, एकिकृत कृषि प्रणाली पनि एउटा दीर्घकालीन कृषि विकासको रणनीति बनेको छ। तसर्थ यसलाई बुझ्न र अवलम्वन गर्न नित्तान्त आवश्यक छ।
दुई वा दुई भन्दा बढि कृषि उद्यमहरुको आपसि तालमेल र परस्पर सम्बन्ध र त्यसबाट लिन सकिने फाइदाहरू लाई अध्ययन गर्दै एकै फार्ममा संयुक्त रुपमा व्यबस्थापन गरि गरिने खेति पद्धति लाई सरल भाषामा एकिकृत खेति प्रणाली भनिन्छ। हामिले तरकारी, फलफुल, फुलबारी, पशुपन्छी, माछापालन, मौरीपालन इत्यादि जुनसँग पनि एकिकृत रुपमा लैजान सकिन्छ। यसका लागि भनेर कुनै ठोस मोडेल त छैन तर पनि खेति प्रणालीका विविध पक्षलाई समेटेर सोही अनुरुपको मोडेल सृजना गर्न सक्छौ। मोडेल विशेषगरी त्यस ठाउँको भौगोलिक बनोट र हावापानी, स्रोतसाधनको उपलब्धता (जस्तै: जल, जमीन, मजदुर संख्या, बजारिकरणमा सुविधा, जोखिम पक्ष, पारिवारिक संख्या, सिप, ज्ञान र अनुभवको अवस्था ) थुप्रै कुराहरूमा निर्भर रहने गर्दछ। अर्को कुरा भनेको हामिले कुनकुन तत्वहरूलाई समेट्न गइरहेका छौ भन्ने कुरालाई पनि बिर्सनु हुँदैन ताकि एकातिर फाल्तु र नचाहिने भनि छुट्याइएका बस्तुभाउ अर्कोको लागि आवश्यकीय स्रोत भन्न सकोस्, खाद्यान्न, घाम पानीका निम्ति कम भन्दा कम प्रतिस्पर्दा होस्, एक आपसमा पुरकको रुपमा रही फाइदा लिन सकियोस्। जस्तै केरा र मंगुर माछा बीचको एकिकृत खेति जहा केराका बोक्रा र पात माछाको राम्रो खाद्य तत्त्व हुने र माछा पोखरीको पानी केराको बोटमा प्रयोग गर्न सकिने कुरा पत्ता लागेको छ (CGIAR २०२०, Aug ४)। दिगो विकासको सिद्धान्तमा आधारित रहेर स्रोत र साधनको विवेकशील रूपले परिचालन गर्दै सन्तुलित खाद्यान्न, स्वच्छ वातावरण, उत्पादकत्व र मुनाफा वृद्धिमा विशेष जोड दिने यसको मुख्य उद्येश्य अन्तर्गत पर्दछन् भने यससँग जोडिएर रहेका अन्य फाईदाहरु पनि छन्।
अब एकिकृत खेति प्रणाली नै किन ?
माथि भने जस्तै दिगो कृषी र प्रकृतिको नियममा आधारित रहने हुँदा पर्यावरणीय सन्तुलन र संरक्षण, लागत खर्चमा न्यूनीकरणका साथै बर्सेनि आम्दानी, उत्पादकिय वस्तुमा विविधीकरण, खाद्य सुरक्षा, जोखिम न्यूनीकरण, उपलब्ध जग्गाजमिनको अधिकतम उपभोग, विश्वव्यापी रुपमा बढ्दो जनसँख्याको खादिलो खाद्य माग परिपुर्ति, बह्या उपजको (रसायन, बिषादी) निर्भरतामा सहजीकरण साथै आत्मनिर्भरताको विकासमा टेवा पुर्याउँदछ।
म थोरै नेपालको प्रसंगलाई जोड्न चाहे। हाम्रो देश नेपालमा यो खेति कत्ति पनि नयाँ हुँदै होईन। जानीनजानी बाउबाजेको पालादेखि नै प्रचलनमा रही आएको छ। हुनत, अहिलेको आधुनिक, एकल खेतिको परिभाषाबाट बिल्कुलै अलग छ तर पनि नेपालको अधिकांश पहाडि र हिमाली भेगमा यही खेति प्रणालीलाई अंगाल्दै आएको देख्न सकिन्छ, मात्र प्रयाप्त आंकडा र खोजीको कमिले गर्दा यस्ता कुराहरू बाहिरिएका छैनन्। यसै प्रसंगमा ICIMOD ले २०१८ सालमा तयार पारेको रिपोर्ट दर्साउन मन लाग्यो। मदेन नाम गरेका ताप्लेजुङका किसानको सफलताको कथा सुनाउन चाहे। साउदी अरबमा लामो समयसम्म काम गर्दैगर्दा दुःख पाएका उनी नेपालको ताप्लेजुङ्गमा रहि एकिकृत खेति विधिको राम्रो उदाहरण बनेका छन्। उहाँले अलैँची र उतिशको बोटलाई संगै लगाउँदै आउनु भएको रहेछ। अलैचीको व्यापार संगै उतिशको काठ बेचेर राम्रो आम्दानी लिनु भएको छ। आफ्नो फार्म लाई अझ विविध रूप दिनको लागि कुखुरा, सुँगुर पालनलाई पनि जोड्नु भएको रहेछ। समय संगै विस्तारै बाख्रा, गाई र आफुलाई चाहिने घासहरु (कुटमेरो, बडहर, बास) फार्म ओरिपरी लाउँदै आउनु भएको छ र हालसालै तरकारी खेतीलाई पनि प्राथमिकता दिन थाल्नुभएको रहेछ। यो त एउटा उदाहरण मात्र हो, यसरी खेतिगर्ने किसानहरूको अथाह कथा अझ खुल्न बाँकी छन्। हिमाली भेग तिर बाख्रा, चौरी गाई, र बालीनाली संगसंगै गर्ने चलन बढी प्रचलनमा छन्।
तर यस खेति प्रणालीमा पनि आफ्नै समस्याहरु र किसानका गुनासा जोडिएका छन्। ज्यादा लेवर लाग्ने, विविधीकरण हुने हुदा सबै क्षेत्रमा ज्ञान, सिप र चेतनाको कमिले गर्दा, आइपर्ने समस्याहरूलाई समाल्न अप्ठेरो पर्ने, एकिकृत रुपमा खेति गरिने हुदा एक बिरुवा र पशुपन्छीमा देखिएका रोग किराको संक्रमण अन्य पशु र बोटबिरुवामा पनि सजिलै फैलिन सक्ने, बजारिकरण सँगको जानकारी नहुँदा उत्पादित बस्तुभाउ लाई समायमा विक्रीवितरण गर्न नपाउनु यी यस्ता केहि चुनौती अन्तर्गत पर्ने गर्दछन्। तसर्थ, नेपालका विभिन्न भूभागमा यस खेति पद्धति लाई अवलम्वन गर्दै आएका किसान वर्गहरूको सहि तथ्यांक निकालि सोहि क्षेत्रमा कृषि तथा पशुविज्ञको प्राविधिक सुझाव सल्लाह, सम्बन्धित सरकारी र गैर सरकारी संस्था द्वारा भौतिक, आर्थिक साथ सहयोग, आवश्यकीय ज्ञान सीप मुलक तालिमको आयोजना, जनचेतना मुलक कार्यक्रमको योजना परियोजना र विस्तारमा जोड दिए यस खेति प्रणालीलाई सजिलै बढवा दिन सकिन्थ्यो किनभने हामीलाई जिरो बाट सुरु गर्नु नपर्ने र परे पनि माथिका नमुना र उदाहरण लाई आधार बनाउन सकिन्छ।
जय किसानी।