स्वच्छ आहारा र स्वस्थ जीवन सबै मानिसको नैसर्गिक अधिकार हो | बढ्दो जनसंख्या संगै खाद्यान्नको माग पनि दिनानुदिन बढ्दो छ | बढ्दो मागलाई पूर्ति गर्न मानिसहरु भोलिको नसोचि कृषि आधुनिकीकरण, रसायनिक तथा उन्नत बिउबिजनको प्रोयोग तर्फ लम्किरहेका छन् | कृषि उत्पादन छोटो समयमै बढाएर, छोटो समयमै माग समेटी आम्दानी गर्ने होडबाजीमा सबै जना रुमल्लिएका छन् |

हो हाम्रो परम्परागत खेतीले पक्कैपनी खाद्यान्नको मागलाई समेट्न सक्दैन | त्यसैकारण कृषि प्रणालीमा परिवर्तन ल्यानु आवश्यक छ तर कृषि आधुनिकीकरणको नाममा के हामी गलत दिशातर्फ त लम्किरहेका छैनौ ? आफ्नो परम्परागत शैली र हजारौ गुणले भरिपुर्ण रैथाने तथा पुराना बलिहरुलाई बिर्सेका त छैनौ ?

नेपालमा सन् १९६० को दशकमा पहिलो पटक उन्नत जातको बिउ भित्रिएको थियो भने यति छोटो समयमा यी बालीहरु निकै प्रचलित हुदै देशको कुनाकन्दरासम्म फैलिसकेका छन् | गुणस्थर भन्दा पनि परिमाणमा केन्द्रित हाम्रो कृषि प्रणालीले गर्दा नै हामी केहि प्रचलित उन्नत बालीमा निर्भर हुन परिरहेको अवस्था छ | उन्नत बालीसंगै थुप्रै रोगकिराको असर पनि बढिरहेको छ |

रैथाने जात हामो देशको हावापानी, माटो, भौगोलिक र प्रकितिक विभिदतासंग अनुकुल छन् | यिनीहरुमा रोग तथा किरा प्रतिरोधात्मक क्षेमता बढी हुनुका साथै प्रसस्त पोषणतत्व पाईन्छन् | यद्धपि राम्रो अन्वेषण हुन नपाउदा यिनीहरुको महत्तो नबुझेर कतिपय हाम्रा रैथाने जातहरु लोप हुने अवस्थामा छन् | पहिले प्रचलित धानका रैथाने जातहरु जस्तै अनदी, सावामन्सुली, बासमती, कालानमक बिस्तारै हराउदै गएका छन् | धनको मात्र नभएर गहु, मकै, तरकारी बालीका रैथाने जातहरु लोप हुने अवस्थामा छन् जसका कारण तिनीहरुको आश्नुवंशिक स्रोत घट्दै गएको छ | त्यसैगरी हाम्रा स्थानिय बाली जस्तै  कोदो, फापर, चिनो, कागुनो, लट्टे लगाएत अन्य बालीहरुले पनी आफ्नो अस्तित्व गुमाईरहेका छन् | संस्कृतिक र परम्परागत महत्व बोकेको अनदीको चामल, मिठो बास्ना आउने बासमती धान लगाएत नेपालको जिर्ण हावापानी, उर्बराशक्ति र चिस्यान कम भएको माटोमा पनि उत्पादन दिने कोदो, फापर, जौ, चिनो, कागुनो आजभोली बिरलै पाईन्छन् |

अहिले कोरोनको महामारीले सबै देश र देशबासी पिडामा छन् | आयातित बिउबिजनमा मात्र भर पर्दा कदाचित् कोरोना जस्तै महामारी आईलाग्दा बिउ संकटको जोखिम पर्न सक्छ | प्राकृतिक अवस्था फेरिने वित्तिकै वा सामान्य रोगकिरा लाग्ने वित्तिकै वर्णसंकर बाली जोगाउन गार्हो हुन्छ भने रैथाने बालीहरुमा रोगकिरा प्रतिरोधात्मक क्षमता बढी भई निरन्तर उत्पादन दिन्छन् | कोदो, जौ, फापर लगाएत थुप्रै स्थानीय बालीले उच्च रक्तचाप, मधुमेह नियेन्त्रण गरी सरिरलाई स्वास्थ्य राख्न मद्धत गर्दछ | न त यसको उन्नत बिउ जस्तै प्रतिफल घट्दै जान्छ न त बिउको लागि परदेशसंग निर्भर हुनुपर्छ | यिनै रैताने जातका महत्वोलाई बुझी हाम्रो कृषि प्रणालीमा समावेश गर्न सके ती बालीको संरक्षण हुनुका साथै थुप्रै नेपालीलाई भोकमरीबाट बचाउ“न सक्छौ |

रैथाने जात हाम्रो पहिचान हुन् र यिनीहरुले हाम्रो देशको विभिधतालाई झल्काउछन् | यिनिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो | यी जातहरुको आनुवंशिक स्रोतलाई जीन बैंकमा संरक्षण गर्न सके भविष्यमा कृषिमा आउन सक्ने समस्यालाई पनि समाधान गर्न सकिन्छ | यदी बेलैमा हामीले कानुनी रुपमा स्वामित्व सुनिस्चित गर्न सकेनौ भने अरुले नै यसको प्रतिलिपि अधिकार दाबी गर्नेछन् | नेपालमा प्रत्यक वर्ष अरबौको बीउबिजन आयात हुदै“ आएको छ र कत्ति बीउबिजन गुणस्तरहीन भित्रिनाले वेलाबखतमा धनमा भुस मात्रै फाल्ने, मकैका घोगामा दाना नलाग्ने जस्ता समस्या पनि देखा परेका छन् | यसरी स्वदेशी जात र बालीहरुको महत्व नबुझी अरु देशबाट बीउबिजन भित्राईरहदा हाम्रो परनिर्भरता बढ्दै जान्छ |

अतः अहिलेको समयमा मानिसले बिर्सिनै लागेका रैथाने बलिको संरक्षण गर्दै तिनको जगेर्ना गर्नु नितान्त आवश्यक्ता बनेको छ भने सरकारी स्थरबाटै यस क्षेत्रको लागि उचित कदम उठाउन, यसका फाइदाबारे जनचेतना फैलाउन, अपरिहार्य छ |