हामी मानव जाति प्रकृतिको एउटा अंग हाँै । हामी सृष्टिमा जन्म लिएपश्चात प्रकृतिमा नै खेल्दै, डुल्दै, प्राकृतिक सम्पदा उपभोग गर्दै हुर्कने बढ्ने क्रममा प्रकृतिका कतिपय कुराहरु छिटो पहिचान गर्छौं , कतिपय ढिलो चिन्छौं र कतिपय कुराहरु देखेर पनि त्यति महत्त्व दिदैनौं, नजरअन्दाज गरिदिन्छौं । मानव स्वभाव यस्तो छ कि हामी नजिकका श्रोत साधन अनि प्राकृतिक कुराहरु ख्याल राख्दैनौँ, महत्व बुझ्न सक्दैनौं अनि महत्वाकांक्षी भावनाका साथ आधुनिकतामा रमाईदिन्छौं। बिलासिनता र आवश्यकता पूर्तिमा भौतारिदा हामी यति पर पुगिसकेका हुन्छौं कि कहिलेकाहीँ हामी हाम्रै घर आगन पाखा पखेराका संजीवनी बुटिहरु देख्न, चिन्न सकेका हुदैनौं,नजिकको तिर्थ हेला गरिदिन्छौं । तर जव केहि समस्या आउँछ, केहि विपत आइपर्छ तव हामी हाम्रै घर आगनमा फर्कन्छौं, प्रकृतिमा नै आश्रित हुन पुग्छौं ,बल्ल प्रकृतिलाई चिन्न थाल्छौं। आधुनिकताका नाममा माटोमा फलेका मोतिहरुलाई हामी यसै मासिदिन्छौँ । आधुनिकता अहिलेको २१ औ शताब्दीमा राम्रो हो र आवश्यकता पनि हो तर प्रकृति बिनाको आधुनिकता क्षणिक हुन्छ । हामीलाई प्रकृतिले अनुपम बरदान दिएको छ, त्यसलाई चिन्नु, टिप्नु र व्यवसायिक बनाउनु हाम्रो जिम्मेवारी हो, जसले प्रकृतिलाई संरक्षण गर्न, दिगो आधुनिकता दिलाउन र आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण टेवा पुर्याउँछ ।
प्रकृतिमा नै फर्कने दर्शन अनुरुप पहिले पहिले जंगलमा गएर खोजिने, सिकार गरेर खाइने कुराहरु नै अहिले व्यवसायिकता तर्फ जादैछन र तुलनात्मक रुपमा राम्रो बजार पनि लिदैछन । पहिले मासिने गरेको र अहिले खोजि खोजी खान र खेति गर्न थालिएको र बिस्तारै व्यवसायिक रुप लिन थालेको महत्वपूर्ण प्राकृतिक जडिबुटी हो सिस्नो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुना मदनमा साग र सिस्नु खाएको बेश आनन्दी मनले भनेर समावेश गर्दै गर्दा त्यस बखतका मानिसको तरकारीको रुपमा चिनिएको÷ बुझिएको तर आधुनिक समाजमा हराउदै गएको थियो । गरिव र विपन्न वर्गको पहिचान भनेर चिनिने सिस्नो अहिले ठुला सहरका महंगा होटल रेस्टुरेन्टहरुका मेनुमा प्रमुख आकर्षक परिकारको रुपमा रहन थालेको छ ।
सिस्नो चौडा पात हुने, १–२ मिटरसम्म अग्लो हुने, पात हरियो, काण्ड ठाडो र कलिलो हुने, पात तथा मुनाहरु जति काट्यो उति पलाउने, सजिलै वृद्धि र बिस्तार हुने बोटबिरुवा हो, जुन Urticaceae परिवारमा पर्दछ । यसका पात ३–१५ से मि चौडा, ठाडो काण्डमा दुबैतिर एक अर्काको बिपरीत पलाएका हुन्छन् । सिस्नो विशुद्द अर्गानिक उत्पादन भएकाले विषादीको डर हुँदैन । पहाडी ग्रामिण समाजमा जन्मेहुर्केका मानिस सिस्नो नदेखेका अथवा सिस्नोले नपोलेका सायदै कोहि होलान । यसमा हुने फर्मिक अम्लले शरीरमा पोल्ने र हिस्टामाइन तत्वले छाला सुनिने हुन्छ तर पानीमा उमालेपछि सो तत्वहरु आफै नाश भएर जान्छन् । आफंैमा लामो इतिहास, विविध महत्व र पहिचान बोकेको तर समाज विकासक्रम संगै झार वा झाडी सम्झेर फाडिएका सिस्नो अहिले यसको महत्व र बहुउपयोगिताकै कारण पुनर्जागरण हुँदैछ ।
प्रयोग / उपयोगिता के के छन् ?
पहिले पहिले दोषीलाई सजाय दिन वा शरीरमा पोल्न प्रयोग हुने सिस्नो अत्यन्त लाभदायी बहुउपयोगी जडिबुटी हो, जसलाई रोग हटाउनदेखि भोक मेटाउनसम्म उपयोग गर्न सकिन्छ । सिस्नोको धुलोलाई सुप बनाएर, चियामा हालेर वा ग्रिन टी बनाएर, दाल बनाएर वा ढिडोमा हालेर खान सकिन्छ । हरियो सिस्नोको मुन्टालाइ राम्ररी पखालेर उमालेपछि तरकारीको रुपमा खान सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई २०० ml तातो पानीमा रातभर भिजाएर छाडिदिएर बिहान खालि पेटमा उक्त पानी पिउन सकिन्छ जसले शरीरका भित्रि अंग सरसफाइमा सहयोग गर्दछ । घाउ चोटपटक लागेको ठाउँमा र हाडजोर्नी भाचिएको अवस्थामा सिस्नो थिचेर लेपन लगाउन पनि प्रयोग गरिन्छ। कृषि क्षेत्रमा बिभिन्न बानास्पतिक बिषादी बनाउन, झोलमोल बनाउन, गाइबस्तुलाइ खोले बनाएर खुवाउन, सुकाएर घासपातको रुपमा खुवाउन, बंगुर तथा कुखुराहरुलाई दानाको रुपमा खुवाउन पनि सिस्नोको प्रभावकारी उपयोग भएको देखिन्छ । एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीमा पुतलीका लार्भा तथा झुसिलकीराहरूलाई आकर्षित गर्नका लागि पनि सिस्नो लगाउने गरिन्छ । विभिन्न अल्कोहलजन्य पिय पदार्थ बनाउन, तेल बनाउन अनि अनुहार तथा कपालका लागि प्रभावकारी हर्वल सामाग्रीहरु बनाउन पनि सिस्नोको प्रयोग गरिन्छ । यसका साथसाथै हाम्रो देशको सुदुर पश्चिम क्षेत्रमा नयाँ बर्षको दिन मनाइने बिषु पर्वमा पनि सिस्नोको प्रयोग गर्ने गरेको पाइन्छ, जसमा देवर(भाउजु, साली(भिनाजु, नन्द(भाउजु ,देउरानी(जेठानी एक अर्कामा सिस्नो पानी छ्यापेर रमाइलो गर्ने गर्दछन् ।
सिस्नो किन महत्त्वपूर्ण छ ? यसका फाइदाहरु के के छन् ?
ड्सिस्नोमा ८२.४% पानी र १७.६% सुख्खा पदार्थ हुन्छ जसमा प्रोटिन ५.५%, कार्बोहाइड्रेड ७.१%, बोशोका साथसाथै क्याल्सियम, म्याग्नेसियम, खनिज, क्लोरोफिल, क्रोमियम, कोवाल्ट, फलाम, फस्फोरस, पोटासियम, जिंक, तामा, सल्फर, नियासिन, म्यान्गानिज, सेलेनियम, भिटामिन B,C,D,K आदि पाइन्छन् ।
• सिस्नोका उत्पादनहरुको सेवनले मानव शरीरको पाचन प्रणाली मजबुद बनाउन, अपचको समस्या समाधान गर्न, ग्याष्ट्रिक नियन्त्रण गर्न र भित्रि पेटको सरसफाई गर्न सहयोग गर्दछ । साथै सिस्नोमा फाइबर र लासिलोपाना हुने हुँदा खाना पचाउन सहज गर्दछ ।
• रक्तसंचार प्रणाली अन्तर्गत मुटुसम्बन्धि बिभिन्न रोगहरू समाधान, उच्च रक्तचाप नियन्त्रण, कलेजो संरक्षण, रक्त शुद्धिकरण गर्न शरीरमा नयाँ सेल बनाउन यसले महत्वपूर्ण सहयोग गर्दछ । साथै प्यान्क्रियाज लाइ अधिक इन्सुलिन बनाउन वा रिलिज गर्न मद्धत गरि रगतमा चिनीको मात्रा कम गर्दछ ।
• मिर्गौला तथा पिसाब सम्बन्धि समस्या हटाउन, पत्थरीको समस्या समाधान गर्न, पिसावमा हुने संक्रमण नियन्त्रण गर्न र मुत्रनालिमा हुने अवरोध हटाउन मुत्रवर्धक जडिबुटीको रुपमा सिस्नोका उत्पादनहरुको उपयोग गर्न सकिन्छ । यसले मुत्रपथबाट हानिकारक ब्याक्टेरिया हटाउन र प्रोश्टेटिक हाइपरप्लेसिया अवस्थाका मानिसलाई राहात दिलाउन सहयोग गर्दछ ।
• सिस्नोको बिउको सेवनबाट एड्रेनल्स पुननिर्माण गर्न र जराहरुको सेवनले पुरुषमा प्रोस्ट्रेट समस्या समाधान गर्न, बाँझोपन हटाउन तथा शुक्रकीटहरुको उत्पादन वृद्धि गर्न सहयोग गर्दछ । सिस्नोमा प्रशस्त मात्रामा फलाम तत्व हुने हुदा महिलाहरुमा हुने रक्ताश्राब नियन्त्रण गर्न, महिनावारी सम्बन्धि समस्या समाधान गर्न, महिलाको हर्मोन संरक्षण गर्न , बाँझोपन हटाउन , गर्भिणी महिलाको पेटको बच्चालाई मजबुद पार्न र दुध उत्पादन वृद्धि गर्न सहयोग गर्दछ । साथै सिस्नोका बिभिन्न उत्पादन हरुले हर्बल टोनिक्सको रुपमा महिलाहरुको यौनाङ्गहरुमा देखिने बिबिराहरु हटाउन समेत मद्धत गर्दछ ।
• यसमा हुने बोरोन र क्याल्सियमले अस्थिपन्जर बलियो बनाउन, ढाड तथा घुडा दुखेको निको पार्न, भाचिएका तथा मर्किएका हाडजोर्नी हरु जोड्न र बाथ रोग नियन्त्रण गर्न प्रभावकारी मानिन्छ ।
• श्वासप्रश्वासमा देखिने समस्या, रुघाखोकी, घाटी बस्ने, मुख दुख्ने तथा आस्थ्मा जस्ता समस्याहरु समाधान गर्न सहयोग गर्दछ ।
• विभिन्न कस्मेटिक सामाग्री बनाइ छालामा देखिने विभिन्न समस्याहरु, छालाको एलर्जी, डन्डीफोर आदि हटाउन र मेहेन्दी बनाएर कपालमा दलेमा कपाल सिल्की बनाउन समेत यसले सहयोग गर्दछ ।
• सिस्नोमा प्रशस्त मात्रामा पौष्टिक खाद्धतत्व हुने हुँदा यसले शरीरको वृद्धि विकाश र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्धत गर्दछ ।
• मानव शरीर मात्र नभई विभिन्न पशुपंक्षीहरुमा पनि सिस्नो फाइदाजनक हुन्छ । गाईभैंसीहरुको दुधको उत्पादन र चिल्लोपन बढाउन सिस्नो हलुका सुकाएर दिने गरिन्छ । सिस्नोको मुण्टालाइ दानाको रुपमा खुवाएको कुखुराले तुलनात्मक रुपमा धेरै र गुणस्तरीय अण्डा पार्ने साथै मासु स्वादिलो हुने गर्दछ । बंगुरहरुमा छिटो मासु लाग्न साथै स्वादिलो मासु उत्पादन गर्न सिस्नो दानको रुपमा दिन सकिन्छ ।
• सिस्नो प्रशस्त मात्रामा प्राङ्गारिक मल भएको तथा नाइट्रोजन र फस्फोरस भएको ठाउमा राम्रोसंग उम्रने हुनाले यसले Fertilizer Indicator को रुपमा समेत काम गर्दछ। साथै बिभिन्न कीराहरूलाई आकर्षित गर्ने र आश्रय दिने हुँदा insect attractant को भूमिका समेत निर्वाह गर्दछ। १ किलो सिस्नोको टुक्रामा ८–९ लिटर पानी मिसाई १५–२० घन्टासम्म भिजाएर रस छानेर छरेमा झुसीलकीरा, लाही, उडुस, उपिया, सांग्ला जस्ता कीराहरू नियन्त्रण गर्दछ ।
• सिस्नोको व्यवसायिक उत्पादन गरेर पात टिपेर तथा धुलो पाउडर बनाएर अथवा व्यवसायिक खेति सम्बन्धि तालिमहरु संचालन गरेर आर्थिक आर्जन पनि गर्न सकिन्छ । साथै सिस्नोको पात तथा धुलोलाई पाउडर बनाउने उद्योग संचालन गर्न र देश विदेशमा उत्पादन बिक्रीवितरण गरि आर्थिक लाभ लिन सकिन्छ ।
सिस्नो कस्तो ठाउँमा लगाउने?
सिस्नो समुन्द्री सतहबाट ३०० मिटर भन्दा माथि लगाउन सकिन्छ तर ७०० देखि १३०० मिटरसम्म यसको राम्रोसंग खेति भएको पाइन्छ । विषेशत पहाडि र उपत्यका क्षेत्रमा यसको उत्पादन राम्रो भएको देखिन्छ । प्रशस्त प्राङ्गारिक मल भएको, हलुका घाम पर्ने , चिस्यानयुक्त माटोमा यसको राम्रो खेति गर्न सकिन्छ। pH ५–८ सम्म भएको माटोमा सिस्नोको उत्पादन लिन सकिन्छ । बादरको आतंक र अत्याधिक बसाइसराइले गर्दा खालि रहेका हाम्रा बारीमा, कान्ला, खेतका छेउछाउ तथा खरावारिमा समेत सिस्नोको खेति गर्न सकिन्छ ।
कसरि लगाउने?
सिस्नोलाई बीउ, बेर्ना तथा बनस्पतिबाट प्रसार गरि खेति गर्न सकिन्छ।
► प्रत्यक्ष बिउ : शरद वा बसन्त ऋतुमा ३०० ग्राम प्रति रोपनीका दरले तयारि जगामा बीउ रोप्न सकिन्छ । यसका लागि तयारी जग्गाको माटोको माथि बीउ राखेर हलुका पानी राखिन्छ तर बीउ अंकुरण प्रक्रिया सुरु गर्न प्रकाश चाहिने हुदा माटोले पुरिदैंन । यसरि लगाएको बीउ ३ हप्ता जातिमा अंकुरण हुन्छ । यस प्रक्रियाबाट उत्पादन गर्न निकै गाह्रो हुन्छ ।
► बेर्ना रोपन : नर्सरीमा तयार भएको बेर्ना प्रशस्त प्राङ्गारिक मल हाली तयार पारिएको जग्गामा ३० सेमी X ३० सेमी को अन्तरमा रोप्न सकिन्छ ।
► बनस्पति प्रसार : यस विधिमा सिस्नोको जरा तथा हागाबाट प्रसारण गरि रोप्ने गरिन्छ।
– जराबाट प्रसार गर्दा धेरै टुसा भएको १० से.मि . लामो जरा काट्ने र त्यसको ५–७ सेमी जमिन भित्र पर्ने गरि ३० सेमी X ३० सेमी अन्तरमा जराका टुक्राहरु रोप्ने
– हागाबाट बिस्तार गर्दा टुप्पामा दुइपात पलाएका हागाहरु काट्ने र रूतिंग होर्मोने राखेर ३० सेमी X ३० सेमी अन्तरमा रोपिदिने
उत्पादन र बजार मुल्य कस्तो छ ?
यसरि रोपेको सिस्नो प्रशस्त प्रांगारिक मल र राम्रो वातावरण पाएमा पुदिना जस्तै फैलन्छ र ३ महिना भित्रमा उत्पादन दिन थाल्छ। उत्पादन टिप्नु अघि हामीले शरीरलाई सुरक्षित बनाउन लामो बाउला भएको कपडा तथा पन्जाहरु लगाउनु पर्दछ र चिम्टा वा कैचिको सहाराले पात वा मुनाहरु टिप्नु पर्छ । एकपटक टिपेको १०–१५ दिनमा पुन टिप्न तयार हुन्छ । हामीले प्रतिरोपनि १ टन सम्म हरियो उत्पादन लिन सक्छौ ।
स्थानीय स्तरमा वा देशका प्रमुख शहरहरुका सुपरमार्केट, होटल, रेस्टुरेण्ट तथा पसलहरुमा र हर्बल उद्योगहरुमा सिस्नो बिक्रि गर्न सकिन्छ । बजारमा हरियो सिस्नो प्रतिकेजी रु २० देखि ४० र पाउडर प्रतिकेजी ५००–८०० सम्म बिक्रि हुने गरेको पाइन्छ ।
सिस्नोलाई कसरि सुकाउने र पाउडर कसरि बनाउने?
सिस्नोको मुन्टा टिपेर प्रत्यक्ष घाम नपर्ने गरि १ हप्ता सम्म सुकाउनु पर्दछ । खुला आकाशमा सुकाउदा सिस्नुको हरियोपना ततहा औषधीय गुण नष्ट हुन् सक्छ । यसरी सुकाइएको सिस्नो हामीले दाल तरकारीहरुमा हालेर खान सक्छौं । उक्त सुकेको सिस्नोलाई उद्धोगमा लगेर मेसिनबाट पिसेर पाउडर बनाउन सकिन्छ । २ डोका जति मुनाबाट १ किलो धुलो पाउडर बनाउन सकिन्छ ।
नेपालमा व्यवसायिक उत्पादन गरिएको छ छैन?
नेपालमा मकवानपुरको भीमफेदी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, उदयपुरको रौतिमाइ गाउँपलिका काभ्रेको रोशी गाउँपालिका, रशुवा, सिन्धुपाल्चोक, दैलेखको भवानी, गोरखाको धार्चे गाउँपालिका, कैलालीको धनागढ़ी, रसुवा जिल्ला, रुकुम पश्चिम लगाएतका ठाउँहरुमा कहिँ उत्पादन त कहिँ उद्योग संचालन गरिएको छ र नेपालको अन्य जिल्लाहरुमा पनि सिस्नोको व्यवसायिक खेति बिस्तार गरिदै छ ।
स्वादका पारखीहरुको जिब्रो लोभ्याउन सक्ने, मानव स्वास्थ्य र पशुपंक्षीहरुको वृद्धि, विकासमा सहयोग गर्ने तथा व्यवसायिक रुप प्रदान गर्न सकेको अवस्थामा नेपाली कृषकलाई आर्थिक समृद्धि दिलाउन सक्ने सिस्नो जस्तै विभिन्न प्राकृतिक वरदानहरुको सम्भाव्यता, महत्व र उपयोगितालाई अध्ययन र मनन गर्दै सबै पक्षबाट सम्बर्धन र प्रवर्धन गर्दै लैजान सक्ने हो भने कृषि क्षेत्रले केहि फड्को अवश्य मार्ने छ र देशको आर्थिक स्थिति र कृषकको जीवनस्तरमा उल्लेख्य सुधार पक्कै आउने नै छ ।