वालिङ। कोभिड १९ कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीसँगै कृषिले व्यवसायिकता पाउन थालेको छ । हरेक चुनौतिको सामनासँगै अवसरको पनि सिर्जना हुने गर्र्दछ, त्यसैको फलस्वरुप नेपाली समाजमा गतवर्षको कोरोना कहरसँगै कृषि क्षेत्रले व्यवसायिकता पाउन थालेको पाइन्छ । यसैक्रममा स्याङ्जा वालिङका किसानहरु सामुहिक भैंसीपालनमा जुटेका छन् । वालिङ नगरपालिका ८ गेदिखोलाका किसानहरु थोरै जनशक्तिको प्रयोग गरेर धेरै उत्पादन लिन सकिने व्यवसायको खोजी गर्ने क्रममा सामुहिक भैंसीपालनलाई रोजेका हुन् । पहिलादेखिको योजनालाई कोरोना महामारीका कारण गरिएको गतवर्षको बन्दाबन्दीले यो समूहलाई अवसर जुटाएको समूहका सदस्य प्रदिप बगालेले बताए । यसकारण पनि बन्दाबन्दीको समयलाई कार्यान्ववयनको अवसरकोरुपमा समूहले लिएको बगालेको भनाई छ । भैंसीपालनसँगै गेदिखोला गाउँलाई स्मार्ट भिलेजकारुपमा समेत विकास गर्ने उनिहरुको उद्देश्य रहेको छ । “गोठ हटाऔं, बगैंचा बनाऔं” भन्ने मूल नारा सहित ३५ लाखको लगानीमा यहाँस्थित ३० घर परिवारले सुरु गरेको फर्ममा साना ठुला गरेर २६ वटा भैंसी छन् । आगामी दुईवर्षमा सयवटा सम्म भैंसी पाल्ने उनिहरुको लक्ष्य छ ।

जम्मा ६ जनाले काम गर्ने हो भने तीस वटा भैंसी पाल्न सकिने समूहले अनुभव गरिसकेको छ । समूहमा मिलेर काम गर्दा रमाइलो हुनुका साथै उत्पादन पनि बढिलिन सकिने भएपछि गाउँवासीलाई उत्साही बनाएको बगालेले बताए । बालबच्चाहरुको समय पढाईमा, हुर्के बढेका सदस्य जागिरमा वा अन्य क्षेत्रमा लाग्नु र एक दुईजना घरायसी काममा व्यस्त रहनु प्राय गाउँघरको विशेषता नै बनेको छ । यस अर्थमा पनि तीस घरका साठीजना मध्ये बाँकि ५४ जना जनशक्तिलाई अन्य आयमूलक क्षेत्रमा लगानी गर्न सकिने बगालेको भनाई छ । यसकारण पनि सामुहिक भैसीपालन गर्न उपयुक्त ठानिएको हो र अरु जनशक्तिलाई विस्तारै तरकारीखेतिमा लगाउने योजना रहेको समेत बगालेले सुनाए ।

बगाले भन्छन्—नेपाल कृषि प्रधान राष्ट्र भएर पनि त्यहि कृषि उत्पादनमा परनिर्भर भएको अध्ययनले देखाएको छ र हाम्रो व्यवहारले पनि प्रमाणित गरेको छ । यस्तो हुनु दुःखको कुरा हो । पेशागत क्षेत्रको अध्ययन गर्दा वास्तवमा कृषकहरुको जीवनस्तर माथि नउठाइकन राष्ट्रमा समृद्धि आउन सक्दैन । कृषि क्षेत्र सबैभन्दा महत्वपूर्ण छ, यसलाई चलायमान नगराएसम्म हामीले हासिल गरेको शिक्षा र राष्ट्रले गरेको अपेक्षाको अनुभूति गर्न नसकिने बगालेको धारणा छ ।

दैनिक ७५ सय लिटर दूध खपत हुने वालिङ बजारमा स्थानीयस्तरमा उत्पादन भएको जम्मा ३ हजार ६ सय लिटर दूधमात्र बजार जान्छ भने बाँकि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । हामीसँग जग्गा छ र जनशक्ति पनि छ भने किन गर्न सक्दैनौ भनेर पनि भैंसीपालनमा लाग्ने सोंच गरेको बगालेको भनाई छ ।

घरायसी प्रयोजनका लागि यसैपनि एक दुईवटा भैंसी पालिन्थ्यो, परिश्रम पनि धेरै नै गर्नुपथ्र्यो तर सात आठ महिना पछि बाहिरबाट दूध ल्याएर खानुपथ्र्याे । अहिले समूह गठन गरेर काम गर्दा नियमित दूध खान पाइने भएपछि खुशी लागेको यहाँ क्रियासिल रिमाकान्ती बगालले बताइन् । बेला बेलामा गरिएका पशुपालन फर्महरुको अवलोकनले पनि काम गर्ने थप हौसला मिलेको रिमाकान्तीले उल्लेख गरिन् ।

यसका साथै स्थानीयस्तरमा खुलेका साना किसान कृषि सहकारीहरुको गतिविधीले पनि व्यवसायिक कृषिमा लाग्न थप प्रेरणा मिलेको छ । विगत दुईवर्षदेखि वालिङस्थित नमुना साना किसान कृषि सहकारी संस्थामा भएको सहभागिताले कृषिलाई आय आर्जनमा जोड्नुपर्छ भन्ने चेतनाको विकास गरेको पनि रिमाकान्तीले बताइन् ।

यहाँ उत्पादित दूध स्थानीय उपभोक्ताहरु फर्ममै आएर लैजाने गर्दछन् भने बिहान ५ बजे र साँझ ४ बजे उपभोक्ताहरुको लाइन लाग्ने गर्दछ ।

आर्थिकरुपले विपन्न र सामाजिकरुपले पिछडिएकाहरुका लागि पनि पशुपालन लगायतका कृषि पेशाले महत्व राख्दछ । कुनैपनि पेशा सानो वा ठुलो हुँदैन, कृषि हाम्रो जीवन्त पेशा हो, र यसलाई निरन्तरता दिन युवाहरुलाई समूहको आग्रह छ । हरेक युवाले हातमा हात र काँधमा काँध मिलाएर लाग्नेहो भने राष्ट्रको समृद्धिमा टेवा पुग्ने छ । युवाहरुलाई कृषि पेशाको बारेमा चेतना अभिवृद्धि गर्ने, प्राविधिक शिक्षालाई अगाडि बढाउने कार्यक्रम ल्याउन आवस्यक देखिन्छ । कृषि पेशा सम्मानित पेशा हो र यसलाई अग्रजहरुबाट पनि सम्मानको दृष्टिले हेर्नसक्यो भने युवाहरुलाई आकर्षित गर्न सकिने समूहको बुझाई छ ।