यो सिजन आशाको कमाइ मोटो आउँने भो। यी हेर त यो मोरो हृदय खुसीले तरकारी पसलेलाई भेट्न हतारिएको । लौं अब त हृदय सँगै म पनि बुर्कुसी मारे है, मेरो खेतैबाट उठ्ने भो जम्मै अन्नबाली तरकारी, अनि मार्दिन त । मार्छु नि । फुरुङ्गिन्छु । फुरुङ्ग्याउछु पनि, मेरो परिवारलाई । उत्पात फुलेको छ, कति त फलिसकेको पनि छ । एक दुई दिन अझै कुर्नी हो भने पहिलो छाक घरलाई पुग्छ। त्यसको एक हप्तामा त , यो सहर पुरैलाई चखाउछु आफ्नै माटोको सुगन्ध । म कति खुसी भाको छु, अन्दाज लगाउँन सक्छेस् नि बूढी हामी कति खुसी छौं, यो सहरलाई खुवाउने कर्म पाउँदा।

तर यो सहर पहिलेको सिजनमा कति निष्ठुरी भाको हगी । आफ्नै माटोका सन्तानलाई मूल्यांकन गर्नै सकेन । अहिले त पाको भैसक्यो । पक्कै जान्नेबुझ्ने थियो कसले मति भ्रष्ट पार्दिएछ बरै पोहोर साल , फ्रेस मान्दै म्यादै सकिन आँटेको तरकारी किन्यो दस रुपैयाँमा। यहीँ सहरका सन्तानलाई अस्पतालमा भेट्न जाँन नपाएर , मेरो माटो पछुतो मान्दै थियो । एक दुई लाख खर्च गरेछन् पेट गडबडलाई शान्त बनाउँन । हामी आफन्तलाई मार्छौं र बुढी । भन त छोरी तेरो पौरख त्यति नालायक छ । अझै तँ किन चुप लागेको छस् छोरा , भन तेरो पसिना त्यति बिषालु छ ? पाँच रुपियाँ बचाउन कुन मुर्खले दुई लाख खर्च गर्छ । तिमरु जे सुकै भन अहिले यो सहरले धोका खाँदै खान्न । मेरो माटोको मन अमिलिन्न । मेरी छोरीको पौरखमाथी शङ्का उठ्दैन । मेरो छोराको पसिनामा अमृत लुकेको पुष्टि हुन्छ । हेर्दै जा बूढी । बूढाले त भन्थे भन्न त भन्लिस्।

बाझो जिमिन फोर्दा । खुस्बु आउँथ्यो, नयाँ जीवनको। मूल जन्मिन्थ्यो बाँच्ने रहरको । आशाले नै पेट भरीन्थ्यो, खेती समाल्नी दिन सम्झदा । मन अघाउँथ्यो ।  “किसान”  भएकोमा घमण्ड जन्मिथ्यो । हो म तिमीहरु सबैलाई पालेको हुँ, अनि किन घमण्ड नगरु म , पराइ माटोको अत्तोपत्तो नहुँदा । मेरो नहरको पानी पनि बेसरी दौडिन्थ्यो खेतलाई भेट्न । भन्थ्यो मलाई नभुलाउँनुस् मेरो मित्र र उसका सन्तानलाई प्यास लागेको छ । समय मै पुग्न सकिन भने आत्महत्याको पाप खेप्नु पर्छ । दोष तपाईंलाई पनि आउँन सक्छ , तपाईंको कारण म समय मै पुन सकेको हुन्न। बस्तुभाउ रिष्टपुष्ट हुन्थे , घाँस पानी पर्याप्त जो थियो । बदलामा खेत मलिलो पार्न हतार अनि मलाई घुर्क्याउँथ्यो मनमोहक आकांक्षा देखाउँदै । सम्झनाको मीठास पनि कस्तो आनान्ददायी पोहोर सालको , नराम्रो कालखण्डलाई निमोठीदिदाँ त । एक पटक असफल भैयों भन्दै हरेस खानी होइन । अहिले तपाईंहरुले नि देख्नु भाको छ नि विश्वासको फल मेरो खेतमा । कस्तो अलछिनै छ ।

पोहोर साल उँखु काट्दा हसियाँ बत्तिएर दौरामा पर्दा परेको प्वाल बुन्न अहिलेको अन्नबाली तरकारीले सियो र घागो दिने भो। भात डड्दा आउँने प्लास्टिकको गन्धले अहिले सहर प्रदुषित हुनु पर्दैन जस्तो छ, धानको बोटको हर्कत नियाल्दा । डेरीमा राँख्ने ठाउँ नभएर सडकका खाल्डा खुल्डीमा दुध सङ्गाल्न पर्दैन जस्तो छ, सरकारका योजनाहरुलाई दुधचिया घुस दिदाँ। बन्दालाइ भलिबल खेलमा प्रयोग गर्दिने व्यवस्थामात्र मिलाइदिने हो भने , बिना मोल पेन्चर हुँदैन होला टायर मुनि। टमाटरको चट्नीको पेन्ट्स बनाइदिने हो भने घर काइदा । अहिले जे होस् खेत गनाउँन्न ।

कतिमा दिन्छौं , पराइले पन्ध्र रुपियाँ किलो भनेको छ, तिमी त आफ्न्त नै हौं पाँचमा दिन सक्छौं  व्यापारी सन्तान जवान भएको थाहा पाएर घरमै अएको थियो। दिनी नदिनी केही नभनी पाँच रुपियाँमा किनरु बाँकी दस रुपियाँ …भन्न नपाउँदै  मैले सर्वसाधारण सँग पुर्याउदा चियाँ खानु परेन । तिमिलाई थाहा छैन होला आजकाल बजारमा दुध चियाको बीस र कालो चियाको पन्ध्र छ भाउ।  भन्यो । हेर्नुहोस बीस रुपैयाँ खर्च गरेर हरीलन्ठु बनाएको म । अनि मेरो हरिलन्ठुलाई पाँचमा किन्न खिज्दै छ अहिले पनि यो सहर । म्याद सकिनै आँटेको पराइको सन्तानलाई मेरो जवानसँग दाँजेर। आँसु जति बर्षाए पनि पलाख्न सक्दिन यो सहरको मैलो मानसिकता। यो पटक पनि चरेस खानु पर्ने ठाँउमा हरेस खाए। म झुल्न पाउँदिन , बाटो बाटोमा। नाँच्न पाउँदिन, खुसी देखाउँदै। सबै भन्दा अभागी कोरैछ, ग्राहक महामुभाव म किसान हैन त ?

मेरो जहानलाई अझै पनि नङ्ग्रा खियाउ, खेत खन, पसिना बगाउँ, अर्को सिजन, अर्को बर्ष यो सहर पाको पक्कै हुन्छ। फकाइ रहन सक्दिन । विश्वास ढलिसक्यो। आकाङ्क्षा साहुको ऋणको पाँसोमा झुन्डिसक्यो। मेरो माटोले हार मानिसक्यो ।मेरो धरोहरको खम्बा बूढो भैसक्यो, सरकारले समयमै मलजल बीउबिजन प्रदान गरेता पनि ।

मेरो पनि जहान छ। परिवार पाल्नू छ। च्यातिएको दौरा टाल्न छाडेर नयाँ कोट किन्नू छ। खरको छानो टिनकोमा बदल्नू छ । लालाबालालाई कपिकिताब बोकाउनू छ, हलो जुवाँ ,कुटो कोदालो होइन, खाडी गएर भएपनी । तपाईंहरु जे सुक्कै भन्नुहोस्, अब म तपाईंहरुले झै पाँच रुपियाँ बचाएर दुई लाख खर्च गर्न सक्ने बनेर आउँछु तपाईंहरु जस्तै। म यो सहरमा किसान बनिरहन सक्दिन।