रैथाने बाली भन्नाले परम्पराखि उब्जाई रहेको किसानद्वारा संरक्षित महत्वपुर्ण बालीहरु पर्छन । यी स्थानीय बालीहरु मा कोदो, फापर, चिनो, कागुनो, लट्टे, जौ, पिंडालु, सिमि आदि र केहि स्थानीय काँक्रा, खुर्सानी, धान, मकै आदि समेटिएका छन् । यी रैथाने बालिहरुको संरक्षण, महत्व र यिनीहरुको प्रबर्धन सम्बन्धि बिभीन्न नीतिहरु जस्तै राष्ट्रिय कृषि नीति २०६१, कृषि बिकाश रणनीति २०१५-२०३५ र कृषि जैविक बिबिधता नीति २०६४ ले उल्लेख गरेको छ । पोषणको हिसाबले यी बालीहरु राम्रै भएतापनि उक्त बालीहरुको उत्पादन र प्रयोग घट्दो छ ।
किन रैथाने बालीको प्रयोग घट्दो छ ?
रैथाने बालीको प्रबर्धन गर्नलाई प्रचार प्रसार गरि येस्को उपयोग बढाउन जरुरि छ । तर उक्त बालीहरुको महत्व नबुझ्नाले प्रयोग घटने क्रम बढे संगै खेति पनि घटेको छ । यस्को मुख्य कारण राज्यको नीतिगत प्राथमिकतामा परेपनि बेव्हारमा लागु नहुनु साथै यी बालीहरुको कुटानी प्रबिधि र प्रशोधन प्रबिधिको अभाव पनि हो । विश्वमा धान, गंहु र मकै मुख्य बालीको रुपमा बिकाशहुने क्रममा यी बालीहरुको कुटानी र प्रशोधन प्रबिधि संगसंगै बिकाश हुँदै गयो । यिनीहरुको अनुपातमा अन्य बाली जो ग्रामिण भेगमा उबजाइन्छ, यिनीहरुको प्रशोधन प्रबिधि बिकाश हुन सकेन । अर्को कारण चामल, मकै र गंहुको प्रयोग ग्रामिण भेगमा बढेपछि यी रैथाने बालीको सट्टा भान्सा र खेतमा चामल र गंहुको प्रयोग बेसी भयो । स्वादमा पनि चामल र गंहु यी रैथाने बाली भन्दा स्वादिलो भएकोले पनि रैथाने बालिको ठाउँ यी अन्नले लिन थाले ।
रैथाने बालीको महत्व :
हाम्रो परमपरागत खाद्य प्रणालीको मुख्य बिम्बनै रैथाने बालि हो । अनेक संस्कृति, धर्म, क्षेत्र र जात बिशेष लाई झल्काउने विभिन्न परमपरागत परिकारको मुख्य अंशको रुपमा रहेको रैथाने बाली, उत्पादन घट्दै जाँदा हाम्रो परिकारहरु पनि लोप हुने क्रममा छन । खाद्य इतिहास, खाद्य संस्कृति र खाद्य पहिचान जोगेरनामा रैथाने बालीको भुमिका महत्वपुर्ण छ । स्थानीय बालीहरु को प्रयोगबाट खाद्य पर्यटनको प्रणाली बिकाश गरेर आय आर्जन गर्न सकिन्छ । मौसम परिबर्तनले खेति प्रणाली र बालीहरुमा पनि सुधार र परिबर्तन आवश्यक देखिन्छ । हाम्रा स्थानीय बालीहरु मौसम परिबर्तनले खास असर नपर्ने हुँदा यिनीहरुलाई climate smart (जलबायु परिबर्तन मैत्री) वा future smart बाली पनि भनिन्छ । यिनीहरुलाई पानी कम चाहिने, खनजोत र मलपनि अरु बाली भन्दा कम आवश्यक पर्छ । जलबायु परिबर्तनको कृषिमा परेको समस्यालाई कम गर्न पनि यी स्थानीय बालीको भुमिका महत्वपूर्ण छ ।
पोषणको हिसाबले पनि स्थानीय बालीको आफ्नै महत्व छ । अहिले बढीरहेको बिभीन्न non-communicable रोग जस्तै चिनी, हड्डी कमजोर हुने, मोटोपन, मुटुको रोग आदि पनि यी स्थानीय बालीको प्रयोग बढेमा क्रमिक सुधार आउन सक्छ । कोदोमा क्याल्सीयम ३०० मि.ग्रा. १०० ग्रा पाइन्छ । फपरमा रुटिन भन्ने तत्व हुन्छ जसले शरीरको कोलेसटेरोल कम गर्ने बुमिका खेल्छ । यी रैथाने बालिमा रेसायुक्त पदार्थ पनि चामल, मकै र गंहुको पिठो भन्दा अधिक हुनाले, यिनको प्रयोग गर्दा पाचन प्रणाली पनि स्वस्थकर हुन्छ । खाद्य सुरक्षामा पनि यो स्थानीय बालीको भुमिका बिशेष हुन्छ । २०७२ सालको भुकम्प र Covid-19 pandemic मा स्थानीय बालीको महत्व झन बढेर आएको छ । येस्को अर्थ कुनै महामारी वा बिकट अवस्थामा खाद्य सुरक्षामा स्थानीय बालीहरुको भुमिका अझ महत्वपुर्ण हुन्छ ।
रैथाने बालीको प्रबर्धन कसरि गर्ने ?
क. प्रबिधि बिकाश :
रैथाने बालीको मुख्य समस्यानै कुटानी गर्न र प्रशोधन गर्न अफ्ट्यारो हुने हो । केहि प्रबिधि हरु बिकाश भए पनि उक्त बालीहरुको प्रचार र प्रसार कम छ । रैथाने बालीबाट विभिन्न खाद्य परिकार हरुको बिकाश गरेमा तेस्को प्रयोग बढ्छ । कस्तो परिकार बिकाश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण छ । केहिले परमपरागत खाद्य परिकारलाई प्रबर्दन गर्नुपर्छ भन्छन भने कोहि आधुनिक परिकार (जो अहिलेको युवा तथा बालबालिकाको रोजाईमा पर्छन) बिकाश गरेर । तर रैथाने बालीको बिकाश र संरक्षण गर्नेहो भने यस्लाई आधुनिक खाद्य प्रणालीमा समाविष्ट गराउनु पर्छ । खाजा र खाना जसले जे मनपर्छ तेही खाने हुँदा हामीले यो खा वा त्यो खा भनेर निर्देशन गर्न गार्हो हुन्छ । हाम्रो उदेश्य भनेको यी सजिलो खाजा वा खानालाई कसरि बढी पौस्टिक र स्वस्थकर बनाउने हुनुपर्छ । आधुनिक खाद्य प्रणालीमा हाम्रो रैथाने बलिलाई हामीले प्रविष्ट गराउन सके येस्को प्रयोग बढ्छ, र ति सजिला खाजा अझ बढी पौस्टिक र स्वस्थकर हुन्छन ।
ख. तालिम र प्रचार :
येसरी बिकाश गरिएको खाद्य परिकार सबै ठाँउमा सजिलै उपलब्ध हुने हो भने मान्छेको जिब्रोले तेस्लाई बानी पार्छ । येस्को लागि हामीले हरेक स्थानीय तहमा रहेका कम्तिमा एउटा बेकरी, र होटेलररेस्टुरेन्टलाई यी परिकार बनाउन प्रोत्सान गर्नुपर्छ र तालिम प्रदान गर्नुपर्छ । हरेक सरकारी कार्यक्रममा होस वा दिवा खाजा खुवाउने कार्यक्रममा यी रैथाने बालीको परिकारलाई अनिबार्य बनायो भने येस्को प्रचार बढ्दै जान्छ । तेस्तै होमस्टे मा पनि रैथाने बालीको परिकार खुवाउनेहो भने त्यंहा आउने पर्यटकले पनि खानामा बिबिधता पाँउछन् । यी रैथाने बालीहरुको महत्व झल्काउने गरि विभिन्न कार्यक्रम (तालिम, अन्तरक्रिया) र प्रकासन गर्न जरुरि छ । हामीले स्थानीय बालीको परिचय र महत्वलाई स्कुलको पाठ्यक्रममा पनि समाबेश गर्नसकिन्छ ।
सारंस :
जलबायु परिबर्तन, पोषण, स्वास्थ, संस्कृति, पहिचान हरेक हिसाबले महत्वपुर्ण रहेको रैथाने (स्थानीय) बालीलाई आधुनिक खाद्य प्रणालीमा खाद्य विविधिकरण मार्फत समाविष्ट गराउन सकेको खण्डमा यी बालीहरुको प्रयोग बढने र यसले अन्तत उत्पादन र प्रबर्दनमा पनि टेवा पुग्नेछ ।
लेखक : प्रविण ओझा (बैज्ञानिक ) राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्