नेपाल एक कृषिप्रधान देश भएकोले कृुषिकर्ममै निर्भर जनसङ्ख्या उल्लेखनिय रुपमा रहेका छन् । कृषिकर्म भन्नेबित्तिकै अचेल कृषिको हरेक पाइलाको सहयात्री बन्दै एक अन्योन्याश्रित सम्बन्ध स्थापित गर्न भ्याइसकेको रसायनलाई त हामीले पृथक राख्नै सक्दैनौ । हरित क्रान्तिको लहरसगैँ तैरिएर आएको एक प्रवृत्ति अहिलेको माटोको आवश्यकता बन्न भ्याइसकेको छ । आफ्ना पुराना पुस्ताले अर्गानिक तवरबाटै फलाएको अन्न खादैँ हुर्किएको पुस्तामा भने बजारमा रसायनको अभाव हुदाँ पनि हाहाकार मच्चिने अवस्था छ । हुन पनि हाम्रो माटोलाई अचेल एक र्दुव्यसनीलाई जस्तै रसायनकै लत लाइसकेको छ । माटोकै लतका कारण उत्पादन राम्रो नहुने भएकैले किसानहरु पनि रसायन प्रयोगका लागी बाध्य छन् । हुन त सुरुमै उत्पादन बढ्ने प्रलोभनमा माटोलाई जबरजस्ती कुलतमा ढकेलिसकेपछि पछि आएर माटोलाई दोष दिन पनि त पाइएन । यसरी आफ्नो छुट्टै प्रभुत्व जमाउन भ्याइसकेको रसायनलाई अब हामीले नअपनाई त धर नै नपाउने अवस्थामा पुगिसकेका छौँ । चाहे रासयानिक मलको रुपमा होस या त विषादीको रुपमा, रसायन माटोको पूरकको रुपमा रहदैँ आएको छ । तर हामीले जतिसुकै सामान्यिकरण गर्न खोजे पनि यस्ता रसायन प्रयोगका असरहरु भने निकै नै भयावह रहेको छ । रसायनमा पनि विषेशतः विषादीको असर अत्यन्त डरलाग्दो रहेको छ ।

जो व्यक्ति विषादीको सम्पर्कमा निरन्तर रहन्छ जस्तै कृषक तथा विषादी पसल वा उद्योगमा काम गर्ने कामदार , उनीहरु विष लाग्ने खतराको उच्च जोखिममा रहने गर्छन् । यसर्थ विषादीको उत्पादन, पैठारी, खुद्रा बिक्रि, मिसावट र प्रयोग गर्ने कार्यमा संलग्न सबै व्यक्तिले विषादी शरीरभित्र कसरी कसरी प्रवेश गर्नसक्छ, कतिसम्म विष लाग्न सक्छ एवम् प्राथमिक उपचारका उपायहरु केके हुन् भन्ने जानकारी अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । कहिलेकाही साना केटाकेटीले झुक्किएर विषादीको सम्पर्कमा आउन सक्ने हुनाले एवम् कहिलेकाही कसैले आत्महत्या गर्ने प्रायोजनले समेत प्रयोग गर्न सक्ने हुनाले, जोसुकैले पनि यस सम्बन्धि सामान्य जानकारी राख्नु आवश्यक रहेको छ ।

सर्वप्रथम त विषादी हाम्रो शरीरमा कुनकुन माध्यमबाट छिर्छ भन्ने जान्न जरुरी हुन्छ । विषेशगरी यी निम्न चार माध्यमबाट विषादीहरु शरीरमा प्रवेश गर्छन् :
१) छालाबाट सोसिएर – विष मिलाउँदा पोखिएर वा हावाको बहावबाट समेत छालामा सोसिन सक्छ । छालाबाट विषादी सोसिन जानुको एउटा सामान्य कारणमा प्रदुषित पहिरनलाई तत्काल नहटाई लामो समयसम्म लगाउनु हो भने छालामा घाउ तथा दागहरु छ भने छालाबाट छिटो सोसिने हुन्छ । हाम्रो शरीरको आँखा, नाक, मुख तथा घाटी झन यस्ता रसायनसँग संवेदनशील हुने गर्छ । यसरी छालाको सम्पर्कमा आएपछि छाला पोल्ने, रातो हुने, चिलाउने जस्ता समस्याहरु देखिन थाल्छन भने यी बाहेक छाला सुन्निने, फोका आउने जस्ता समस्या समेत देखा पर्न सक्छन् ।
२) श्वास प्रश्वास क्रियाबाट प्रवेश हुन आउने – पानीमा मिसिने धुलोलाई  मिसावट गर्दा, धुलो छर्दा, घर भित्र कीटनाशक विषादी छर्कदा, स्प्रेयरबाट विषादी छर्कदा साना ड्रपलेटहरु, धुवाउने विषादीहरु श्वासक्रियाबाट प्रवेश गर्छन् । मानव शरीरमा प्रवेश गरेपछि त्यसले नाक, घाँटी र फोक्सोलाई नराम्रो असर पुर्याउँछ ।
३) खाने प्रक्रियाबाट विष सेवन हुन जाने – लेबल नभएको कोक, वियर जस्ता शिशिहरुमा राखेको विष झुकिएर पिएमा, विषादी छर्किसकेपछि राम्रोसँग हात नधोई खाएमा वा धुम्रपान गरेमा, केटाकेटीले पासोको रुपमा राखेको वा असावधानीपूर्वक राखेको विषादी निलेमा र स्प्रेयरका नोजलहरु जाम भएको अवस्थामा मुखले फुकेर वा चुसेर सफा गर्न खोजिएमा विष सेवन हुन सक्छ । शरीरको अंग अनुसार यसको लक्षण पनि फरक फरक हुन्छ । फोक्सोमा असर गरेको खण्डमा श्वास फेर्न गाह्रो हुने, थुक धेरै निस्कने, श्वासप्रश्वास तिव्र हुने जस्ता समस्या निम्तिन्छन । यदि पेट तथा आन्द्रमा असर पुगेको खण्डमा वाकवाकी लाग्ने, रिगँटा लाग्ने, पेट दुख्ने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छन् । यदि हाम्रो स्नायु प्रणालीमै असर गरेको खण्डमा थकाइ लाग्ने, निन्द्रा लाग्ने, टाउको दुख्ने, मांसपेशी बटारिने, अंग लाटो हुने जस्ता समस्याहरु देखा पर्छन् ।
४) आँखाको संसर्गबाट – आँखा कोमल अंग भएर विषलाई सजिलै सोस्ने भएकोले निकै संवेदनशील मानिन्छ । विषादी तयार गर्दा छिटा पर्न गएमा, विषको झोल वा धुलो छर्दा हावाको बहावबाट वा प्रदुषित हात वा पहिरनले आँखा मिचेमा विषादी आँखामा प्रवेष गर्न सक्छ ।

विषादीको प्रभावले आखाँ पोल्ने, रातो हुने, आँशु बग्ने र चिलाउने तथा उपयुक्त उपचार नपाएको खण्डमा आँखाको ज्योति नै गुम्न सक्ने हुन्छ ।
यदि झक्किएर कोही व्यक्तिलाई विष लाइहालेको खण्डमा कस्तो खालको प्राथमिक उपचार दिनुपर्छ त भन्ने बारेमा हामी सचेत हुन एकदमै जरुरी छ । प्राथमिक उपचारले मुख्य उपचारलाई प्रतिस्थापन नगर्ने भएपनि बिरामीको स्वास्थ्य अवस्थालाई खस्किन नदिन निकै सहयोग गर्छ र ठूलो दुर्घटनाबाट बचाउन सक्छ । सम्पर्कमा आउने माध्यमका आधारमा नै विभाजन गरी हामीले यसबारे जान्न सक्छौ ।
१)  छालाको सम्पर्कमा विषादी आएको खण्डमा १५ मिनेटसम्म छालालाई सफा पानीले पखालीराख्नुपर्ने हुन्छ । यदि छाला डढेको वा पोलेको छ भने त्यसमा चिकित्सकको सल्लाहबिना कुनैपनि प्रकारका क्रिम, पाउडर वा अरु औषधी नलगाई त्यसलाई सफा तथा नरम कपडाले छोपेर राख्नुपर्ने हुन्छ । विषादीको सम्पर्कमा आएको लुगा तुरुन्तै फेर्न लगाई छाला तथा कपाललाई साबुन पानीले धुन लगाउनुपर्छ । उक्त व्यक्ति विषादी छरिराखेकै ठाँउमा भए त्यहाँबाट पर लैजान पर्छ भने कोठाभित्र भए त्यहाँबाट बाहिर हावा चल्ने ठाँउमा लैजानुपर्छ ।
२) श्वाससगैँ भित्र गएमा खुल्ला हावाको आवागमन भएको ठाउँमा लैजानुपर्छ । सास फेर्न गाह्रो भएमा कृत्रिम श्वास प्रश्वास पनि दिनुुपर्ने हुन्छ ।
३) खानासगैँ प्रवेश गरेको खण्डमा तुरुन्तै विषलाई डाइलुट गर्न थोरै पानी ख्वाउनुपर्छ । बेहोसी मान्छेलाई भने हामीले केहीपनि ख्वाउनु हुदैँन । बिरामीलाई सकेसम्म आधा झुकेको अवस्थामा राख्नुपर्छ ताकी बान्ता नरोकियोस
४) आँखामा परेको खण्डमा सकेसम्म आखाँ चिम्लिन नदिई कम्तिमा १५ मिनेटसम्म सफा पानी मज्जाले छ्यापीराख्नुपर्छ ।
यसरी विष लागेको खण्डमा हामीले चाँडो भन्दा चाँडो नजिकैको स्वास्थ्य चौकीमा लैजाने व्यवस्था गरीहाल्नुपर्छ । जानीजानी विष सेवन गरेको भएपनि वा दुर्घटनावश भएको भएपनि डाक्टरकोमा जादाँ अनिवार्य रुपमा सम्भव भएसम्म विषादीको भाँडो र पर्चालाई सँगै लैजानुपर्छ । यसो गर्नाले लेबलमा विष लागेमा कुन एन्टिडोट प्रयोग गर्ने भन्ने जानकारीको अनुसार डाक्टरले उपचार अगाडी बढाउन सक्छन् भने कस्तो प्रकारको विषादी हो र त्यसको कार्य प्रवृत्ति कस्तो छ भन्ने थाहा हुन गई उपचार थप प्रभावकारी हुन्छ ।

वास्तवमा रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति भनेझैँ सम्भव भएसम्म त हामीले विषादी प्रयोग गर्दा नै सावधानी अपनाउनुपर्ने हुन्छ । हामीले सर्वप्रथम त कुन विषादी, कहाँ, कहिले र कसरी प्रयोग गर्ने भन्ने बारेमा राम्रोसँग परामर्श लिनु पर्दछ । सिफरिश गरिएको विषादी, सिफारिश मात्रामा, अत्ति आवश्यक परेको खण्डमा मात्र प्रयोग गर्नुपर्दछ । सकेसम्म त विषादीलाई औषधीको उपमा दिनु हुदैँन र मिलेसम्म त अरु एकिकृत शत्रुजिव व्यवस्थापन जस्ता वैकल्पिक समाधानका उपायहरु रोज्नुपर्दछ । विषादी प्रयोग गर्नैपरेको खण्डमा पनि कम विषालु तर प्रभावकारी खालको छनौट गर्नुपर्छ । विषादीलाई भण्डारण गर्दा सकेसम्म केटाकेटीले नभेटाउने ठाँउमा राख्नुपर्छ भने विषादी सकिएको भाडाँँलाई खानेकुराको भण्डारण गर्न कदापी प्रयोग गर्नुहुुदैँन । यस्ता भाडाँहरुको एकदम सुरक्षित विसर्जन गर्नुपर्ने हुन्छ । यसका साथै विषादीलाई कहिले पनि खानेकुराको भाडाँमा वा पेयपदार्थको शिशिहरुमा भण्डारण गरेर राख्नुहुदँैन र राख्नै परेको खण्डमा पनि अलि अलग्गै तथा सूचक सहित राख्नुपर्ने हुन्छ । विषादी प्रयोग गर्दा हामीले अत्यावश्यक सुरक्षा पहिरन तथा सावधानी व्यवस्थाको पालना गर्नुका साथै म्याद गुज्रिएका तथा प्रतिबन्धित विषादीको प्रयोग गर्नु हुदैँन । विषादी छर्कने बित्तिकै तरकारी तथा फलफूलको बेचबिखन तथा उपभोग गर्नु हुदैँन साथै पर्खनुपर्ने समय (वेटिङ्ग पिरियड) को बारेमा जानकारी राख्नुपर्दछ । यसका साथै हामीले विश्व स्वास्थ्य संगठनको श्रेणी विभाजन, विषालुपना र विषादीको सूचकपत्रमा सावधानीको लागी रहने रङ्गहरुको बारेमा पनि सामान्य जानकारी राख्नुपर्दछ ।