ललितपुर। सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक भएको घोषणा गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।
धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ ।
नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिकटन उत्पादन हुने गरेको र सबै खपत हुने गरेको पनि मन्त्रालयले जनाएको छ।
हाल नेपालमा वार्षिक ४ लाख ५० हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ । कुखुरा, खसी, बंगुर र राँगाको मासु बढी खपत हुन्छ । यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको मन्त्रालयको दाबी छ ।
वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेको छ । यस्तै, दैनिक १० लाख किलो कुखुराको मासु खपत हुन्छ । प्रत्येक नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ ।
त्यस्तै माछा प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो आवश्यक पर्नेमा नेपालमा ३.५ किलो उत्पादन भएको छ । यस्तै दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९ लिटरमात्र उपलब्ध छ ।
घाेषणा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिभरता घाेषणा गर्ने बताइन् । आगामी पाँच वर्षमा धेरै कृषि उत्पादनमा आत्मनिर्भर भएर मुलुक निर्यातकाे अवस्थामा पुग्ने उनको दावी छ ।