स्याङ्जा। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
विगतमा काम गरिखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिवर्तन हुँदै आएको तर अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने संस्कारको विकास हुदै गएको उनले बताइन्। किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँदै मन्त्री अर्यालले भनिन्,‘कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोचलाई परिवर्तन गर्नुपर्छ।’
कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले कृषिमा आधुनिकीरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन। काम नगर्नेलाईज्यू हजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको सुनाइन्।
कृषकलाई व्यवसायीकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरू ल्याउने उनले जानकारी दिइन। ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागी विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ। कृषकको खेतबारीमै सरकार जोडिनेछ’ उनले भनिन्।
माटो र हावापानी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उनले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताइन्। नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिबद्धता व्यक्त गरिन्।
‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइनेसमेत उनको भनाई थियो। स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भईरहेको भन्दै उनले अन्य फलफूल तथा तरकारीको जोन बनाइने बताइन्।
त्यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेकी थिइन्। त्यस्तै, छात्राहरूका लागि मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेशिन र पिउने पानीका लागी युरोगार्ड हस्तान्तरण गरेकी थिइन्।