बलेवा। बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् ।
गलकोट नगरपालिकाको एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार तीन सय किबीका बिरुवा रोपिएको हो । किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु. सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताउनुभयो ।
“नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानीसमेत सामूहिक रुपमा भएको छ”, उहाँले भन्नुभयो,“व्यावसायिक उत्पादनको आशा राखेका छौं ।” किसानले एक हजार पाँच सय विरुवा रोप्ने योजना बनाएका छन् । पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए । सुवेदीले भन्नुभो,“यो पहिलो चरणको थालनी मात्रै हो ।” किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
साथै उहाँले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताउनुभयो । गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताउनुभयो । गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ ।
“धान कोदो लगाउँदा दुःख धेरै आम्दानी कम हुने अवस्था छ”, किसान सुवेदीले भन्नुभयो, “किबीको बजार राम्रो छ, तत्कालै नगद पर्ने भएकाले पनि किसानका खर्च चलाउन सहज हुन्छ ।” खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामासमेत बिरुवा लगाउने योजना बनाएका छन् । रासस