सर्लाही। वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ ।
गत माघ १४ गते काठमाडौं त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो ।
माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेकोमा मंगलवार २ करोड १० लाख ६३ हजार र बुधवार २ करोड ३२ लाख ८० हजार गरि जम्मा १७ करोड ७ लाख १४ हजार भुक्तानी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार भुक्तानी दिनुपर्ने रकम त्यति नै देखिए पनि किसानहरुले दाबी गरेको रकम अझै बाँकी हुन सक्ने बताउनुभयो ।
पौडेलले कुनै किसानले पाउनु पर्ने बाँकी भए उपलब्ध गराउनका लागि ४ करोड ७ लाख रुपैयाँ खातामा राखिएको बताउनुभयो ।
अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले सर्लाही लगेको थियो ।