रुकुम। रुकुम पूर्व को भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो ।

सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ । अहिले सङ्कलन केन्द्रमा कृषकले सिमी, भटमास, केराउ, कोदो, फापर, टिम्मुर, मसुरा, आलु, बेसार, लसुन, प्याजलगायतका कृषि उपज बिक्री गर्न ल्याउने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिनुभयो ।

कृषकले ल्याएको उपजलाई सहकारीले बाहिरको बजार भन्दा सस्तो मूल्यमा किन्ने गरेको छ भने सिमीको दाललाई कृषकको मागअनुसार चामलसँग साटफेर गर्ने गरेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार एक पाथी सिमीसँग तीन पाथी चामल साटेर गरिंदै आएको छ । यो क्षेत्रमा धान नहुने तर सिमी प्रशस्त मात्रामा हुने भएकाले मानिसले बढी चामलसँग सिमी साटफेर गर्ने गरेको व्यवस्थापक अधिकारीले बताउनुभयो ।

अहिले सङ्कलन केन्द्रमा जम्मा भएको सबै प्रकारका उत्पादन दाङ, पाल्पा, बुटवल, बागलुङलगायतका क्षेत्रमा निर्यात भइरहेको छ । ती जिल्लाका सहकारीसँग समन्वय गरेर कृषि उपजलाई बाहिर पठाउने काम गरेको सहकारीले जनाएको छ ।

यस्तै काठमाडौँको चन्द्रागिरि र बारा जिल्लाबाट पनि यी सामानको माग आइरहेको सहकारीले जनाएको छ । सहकारीका व्यवस्थापन अधिकारीका अनुसार यहाँको जैविक उत्पादन राम्रो हुने भन्दै बाराबाट चामलसँग सिमी साटफेरको प्रस्ताव आएको छ । बाहिरको मागअनुसारको उत्पादन नभएकाले सबै ठाउँमा पर्याप्त कृषिउपज पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।

रुकुम (पूर्व) लाई लुम्बिनी प्रदेशले समेत जैविक जिल्ला घोषणा गरिसकेको छ । जैविक जिल्लाको जैविक उत्पादन भनेर अन्य ठाउँबाट यहाँको उत्पादनको माग विस्तारै बढ्न थालेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभएको छ । यस्तै गाउँपालिकाले पहिलो प्राथमितामा कृषि क्षेत्रलाई नै राखेको छ । अहिले गाउँपालिकाले मारिङमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना गरी जैविक बीउबिजन उत्पादन गरिरहेको गाउँपालिका अध्यक्ष बुढामगरले बताउनुभयो ।

‘‘जैविक उत्पादनलाई बढवा दिनको लागि रासायनिक मल र विषादीको प्रयोगमा बन्देज लागइएको छ भने कृषकको समस्या समाधानको लागि वडामा कृषि प्राविधिक खटाएको छौँ’, उहाँले भन्नुभयो । कृषि क्षेत्रबाटै नागरिकको जीवनस्तरमाथि उकास्नको लागि विभिन्न योजना बनाउँदै काम गरिरहेको गाउँपालिकाले मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँग पनि समन्वय गरेर कृषकको उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था गरेको हो ।

कृषकका उत्पादन सङ्कलनको लागि भने भण्डारण कक्षको अभाव देखिएको छ । सङ्कलन गरिएका सामग्रीमा कहिलेकाहीँ मुसाले पनि क्षति पु¥याउने गरेको छ । सहकारी बजार निर्माण भएपछि बिक्री वितरण गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको रु ५० लाख र सहकारीको रु ५० लाख गरी कूल एक करोड रुपैयाँको लगानीमा समग्र जिल्लालाई लक्षित गरी भूमेमा सहकारी बजार निर्माण गरिने भएको छ ।

सहकारी बजार निर्माणको लागि काम पनि शुरु भइसकेको सहकारीका व्यवस्थापक अधिकारीले बताउनुभयो । सहकारी बजार निर्माण भयो भने जिल्लाभरिको उत्पादनलाई उचित व्यवस्थापन गर्न सकिने अपेक्षा यहाँका तीनवटै स्थानीय तहले गरेका छन् । यस्तै जिल्लाका अन्य सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि जैविक जिल्ला निर्माणको आधारलाई टेकेर कृषि क्षेत्रमा लगानी गरिरहेका छन् ।रासस/तस्विर : सामाजिक संजाल