पर्वत। सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला विक्रीबाट १ करोड ५० लाखभन्दा बढी आम्दानी गरेका हुन् ।
यस वर्ष सुन्तलाको उत्पादनमा ह्रास आएकाले गतवर्षको तुलनामा आम्दानी भने घटेको छ । यहाँको बगैंचामा सुन्तला किन्न काठमाडौं, पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए ।
कृषकले २ वर्ष अघिसम्म सहकारीमार्फत विक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढंगले बगैंचा जिम्मा लगाएका थिए । पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत विक्री गरे पनि यस वर्ष किसानले प्रत्यक्ष रूपमा व्यापारीलाई विक्री गरेको अध्यक्ष दाताराम चापागाईंले बताए ।
सुन्तला टिप्न एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैंचा भरिएका थिए । थोक व्यापारीले बगैंचाबाटै खरीद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए । देउपुरका कृषक ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए ।
गतवर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग÷कीराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुन सक्ने स्थानीयको अनुमान छ । विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेती यहाँका कृषकको आम्दानीको मुख्य स्रोत हो । सुन्तला खेतीले उनीहरूको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।
साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रूपमा शुरू गरेको माछापुच्छ«े सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईंले बताए । रासस