बझाङ। समयमै वर्षा नहुँदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । अहिलेसम्म वर्षात् भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताइन् ।
छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छरौँला सोचेको भएपनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको भए पनि गहुँ सुक्दै गएको जानकारी दिए ।
जिल्लामा १० हजार ४ सय ५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जयपृथ्वी नगरपालिका–१ का जीवन बहादुर सिंहले अघिल्ला वर्षमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यस वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिएको बताए ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदूरी गरी खानेहरू पनि गाउँघरमा फर्किएर खेती किसानी गर्न थाले तर समयमै पानी नपर्दा सङ्कट परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले यस वर्ष फागुन १५ गतेसम्म पानी नपरे पाखो जमीनतिर १० देखि १२ प्रतिशत र सिंचाइयोग्य जमीनमा चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने बताए ।
जिल्लामा अरू जिल्लाभन्दा बाँझो जमीन छाड्ने प्रचलन कम रहेको र जिल्लामा १२ हजार टन खाद्यान्न जहिले पनि अभाव हुने भएकाले रु ४२ करोडको खाद्यान्न बाहिरबाट आयात हुने गरेको उनल जानकारी दिए । सुर्मा, साइपाल, मष्टा, छविसपाथीभेरा र वित्थडचिर गाउँपालिका खाद्यान्न असुरक्षाको तथ्याङ्कमा छन् ।