ललितपुर। खानेपानी मन्त्रालयले प्यूठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टिङ गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णयमनुसार स्वर्गद्वारीको खानेपानी समस्या समाधानका लागि यही वर्ष डीपीआरसमेत गरिनेछ ।

त्यसअघि, स्वर्गद्वारीमा रहेको खानेपानी समस्या समाधान सम्बन्धमा खानेपानीमन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव बेल्वासे, विभाग र आयोजनाका प्रमुखसहितको टोलीले स्वर्गद्वारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनित्रि, स्वर्गद्वारी आश्रमका प्रतिनित्रिहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने निर्णय गरेका हुन् ।

मन्त्री थापाले आगामी आर्थिक वर्ष नै बजेटको व्यवस्था गरी स्वर्गद्वारीमा रहेको खानेपानी समस्यालाई सधैँको लागि समाधान गर्ने प्रतिबद्धता जनाए ।

स्वर्गद्वारीमा दैनिक ३०० को हाराहारीमा धार्मिक पर्यटक पुग्ने गर्छन् । स्वर्गद्वारी आश्रममा करिब ४०० परिवारको बसोबास छ । आश्रमले त्यहाँ ४६० वटा भन्दा बढी गाई पाल्दै आएको छ ।

पानीको अभावले मन्दिरको सरसफाइमा समेत समस्या पर्दै आएको थियो । यस्तै, भक्तजनलाई खानेपानीको समस्या, त्यहाँ पालिएका गाईलाई समेत खानेपानीको अभाव हुँदै आएको थियो । यही समस्या समाधानका लागि मन्त्री थापाले मन्त्रिस्तरीय निर्णयबाट माडी नदीको पानी लिफ्ट गरेर स्वर्गद्वारीको खानेपानी समस्या समाधान गर्ने निर्णय गरेका हुन् ।