ललितपुर। कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् ।
खाद्यका लागि कृषि अभियानको आयोजनामा (आइतबार) काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हटनुपर्ने बताउनुभयो ।
आफूहरुले वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको बताउनुभयो ।
सरकारले प्रथामिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरुको गास खोस्न खोजेको आरोप संयोजक अधिकारीको छ ।
विरोध प्रदर्शनमा सहभागीले नेपालको कृषिलाई आत्मनिर्भर बनाउन पहल भइरहेको अवस्थामा सरकारले दूरगामी प्रभावको ख्याल नगरी हचुवाको भरमा निर्णय गरेकोले आन्दोलन गर्नुपरेको बताए ।