ललितपुर। नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले जागरणमूखी अभियान सञ्चालन गर्न निर्देशन दिएकी छन् । शुक्रबार मन्त्रालयमा उपस्थित परिषद्को नेतृत्वलाई मन्त्री अर्यालले शुभकामना तथा बधाई पनि दिएकी छन् ।
पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उनले अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै मन्त्री अर्यालले पशु चिकित्सा क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरिन् । पशुचिकित्साको क्षेत्रमा विगतका अनुभवबाट पाठ सिक्दै जनअपेक्षाअनुसार सेवा प्रवाह गर्ने कार्यमा ध्यान दिनसमेत आग्रह गरिन् ।
माघ ३ गते भएको परिषद्को निर्वाचनबाट उपाध्यक्षमा डा.स्वयंप्रकाश श्रेष्ठ र डा. सुबिर सिंह, सदस्यहरुमा डा.नरेशप्रसाद जोशी, डा.सुजन राना, डा. श्रृजना मानन्धर, डा. मनोजकुमार शाही, डा. सुवास श्रेष्ठ निर्वाचित भएका थिए । परिषद्को निर्वाचन चार/चार वर्षमा हुने गर्दछ ।