ललितपुर। उखु किसानहरूले अझैसम्म पनि चिनी उद्योगहरूबाट बाँकी बक्यौना रकम नपाएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ।

आज उखु किसान संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पुनः आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन्।

गत पुस १३ गते उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमतिअनुसार २१ दिनभित्र अर्थात् माघ ५ गतेभित्र सबै बक्यौता रकम बुझाइसक्नुपर्ने थियो।

“उखु किसानहरूको सम्पूर्ण रकम भुक्तानी गराउन सकेको छैन,” विज्ञप्तिमा उल्लेख छ, “हालसम्म मन्त्रालयले कुन किसानहरूले कति रकम उद्योगीबाट पाउनुपर्ने र कित रकम भुक्तानी पाइसकेको भन्ने किसानहरूको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन सकेको छैन।”

पूर्ण विवरण सार्वजनिक नगराइँदा किसान विश्वस्त हुन नसकेको र सम्पूर्ण विवरण नआएसम्म न्यायिक आन्दोलन जारी रहने बताइएको छ।

उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, कृषक रामविकास पण्डित र समितिका सचिव हरिश्याम रायद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिअनुसार आन्दोलनका कार्यक्रम यस्ता रहेका छन् ।

१. माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान ।
२. फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाँधेर खेतमा काम गर्ने ।
३. फागुन १५ गतेदेखि २१ गतेसम्म एक छाक उपवास गरेर खेतमा काम गर्ने ।
४. तेस्रो चरणको आन्दोलन घोषणा ।