झिमरुक। प्यूठानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गरिएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका– २ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका छन् ।

दर्भानसँगै राप्ती गाउँपालिका बराखुट्टीमा पनि अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी १ हजार ३०० अम्बाको बोट लगाएको सञ्चालक केशरबहादुरले जानकारी दिए ।

ती दुवै ठाउँमा गरी १ हजार २०० ड्रागन फ्रुटको खेती गरिएको छ । तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको बिरुवा लगाइएको छ ।

विभिन्न क्षेत्रमा भारत तथा चीनबाट अम्बा खरीद हुँदै आएकाले छिमेकी जिल्लामा समेत खपत हुने विश्वासले खेती गरेको सञ्चालक कृषक गुरुङले जानकारी दिनुभयो । एक वर्षका अवधिमा दुई चरणमा अम्बा फलेको उनको भनाइ छ । दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा विक्री गरेको र तेस्रो चरणको अम्बा फल्दै गरेको उनले बताए ।

प्रतिकेजी १०० रुपियाँका दरले जिल्लासँगै बुटवलमा पनि अम्बा विक्री गरिएको उनको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे अम्बाखेती राम्रो हुने उनले बताए ।

त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन विक्री गरिएको छ । विसं २०७७ साउनदेखि कात्तिकको अवधिमा एक क्विन्टल ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक गुरुङको भनाइ छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फ्रुटको खेती गरिएको हो ।

पहिलो वर्ष केही कममात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने सञ्चालकको विश्वास छ । फार्ममा रातो र सेतो गरी दुई थरीको ड्रागन फ्रुट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी ८०० रुपियाँ र सेतोलाई प्रतिकेजी ७०० रुपियाँमा विक्री हुने गरेको छ ।

उत्पादित फ्रुट जिल्लासँगै बुटवल र काठमाडौंमा पनि खपत हुने गरेको छ । खेती कम हने गरेकाले विक्रीवितरण सहजरुपमा हुने गरेको छ । करीब २५ लाखको लगानीमा खेती गरिएको हो ।

वार्षिक १ लाख रुपियाँ भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कठ्ठा जमीन भाडामा लिई उक्त खेती गरिएको हो । ड्रागन फ्रुट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर र ४०० बिरुवा स्ट्रबेरीको पनि खेती गरिएको सञ्चालक उनले बताए ।रासस