झापा। मोरङको केरावारी गाउँपालिका कृषि तथा सहकारी शाखाले विभिन्न कार्यक्रममार्फत ब्यवसायिक कृषकलाई सहयोग बढाएपछि कृषकको उत्साह बढेको छ । मोरङ जिल्लाको केरावारी गाउँपालिका भौगोलिक विभिधतालेपूर्ण गाउँपालिका हो । थोरै तराई र अधिकांश पहाडी इलाकामा समेटिएको गाउँपालिकाभित्र कृषिका अनेकौँ सम्भावना देखिएका छन् । तराईमा उत्पादन हुने कृषिउपजदेखि उच्च पहाड क्षेत्रमा उत्पादन हुने जडिबुटीसम्म एउटै गाउँपालिकाभित्र पाउन सकिन्छ, यो नै केरावारी गाउँपालिकाको विशेषताभित्र पर्दछ ।

कृषि विकासका लागि गाउँपालिकाको विभिद सम्भावनाहरु पछ्याउँदै पालिका भित्रका विभिन्न सम्भावनाहरुमा फरक फरक कृषि उपज उत्पादन गर्ने ब्यवसायिक कृषकहरुलाई केरावारी गाउँपालिका कृषि तथा सहकारी विकास शाखाले विभिन्न शीर्षकमा सहयोग उपलब्ध गराउदै आएको छ । प्लाष्टिक पोखरी, थोपा सिंचाई, टनेल निर्माण, आधुनिक मेसिन उपकरणदेखि मल, बीउ किसानलाई सहज रुपमा वितरणका कार्यक्रमहरु सञ्चालनमा ल्याएसँगै कृषकहरु लाभान्वित भएका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा केरावारी गाउँपालिका वडा नं. ३ फूलवारी चोकका गोविन्द श्रेष्ठ पनि एक हुन् ।

ब्यवसायिक कृषक गोविन्द श्रेष्ठ वैदेशिक रोजगारीको सिलसिलामा ओमन गएर साडे नौ वर्ष ब्यवसायिक कृषिमै विदेशी सिप र अनुभव बटुलेका कृषक हुन् । साउदी अरबको भोगाईपछि ओमन पुगेका गोविन्दले कृषिमै काम गर्ने मौका पाए । उनले देशमा रेमिटान्स मात्र भित्र्याएनन् वल्की कृषिका आधुनिकसँगै नविनतम प्रविधिको राम्रो ज्ञान आर्जन गरी अहिले आफ्नै देशमा केहि गरेर देखाउने सपना साकार पारिरहेका छन् । स्वदेशमै केही गर्न श्रीमतीको राम्रो साथ र सहयोग पाएका कृषक श्रेष्ठले विदेशबाट सिपसँगै ल्याउन सम्भव हुनेसम्मका औजार उपकरणहरुसमेत भित्र्याएका छन् ।

सुरुमा ब्यवसायिक बंगुर फार्म सञ्चालन गरेका श्रेष्ठले नराम्रो नोक्सानीको अनुभवसमेत लिइसकेका छन् । त्यसपछि पनि विचल्लित नभई ब्यवसायिक तरकारी खेतीमा होमिएका गोविन्द, रात दिन नभनी मिहेनत गरियो भने सफल भइन्छ तर सानातिना असफलतामा हरेस खानु नहुने तर्क गर्छन् । कृषकले उत्पादन गरेका तरकारीजन्य बालीहरुले बजार नपाउने समस्यामा आफू सहमत नभएको बताउने उद्यमी श्रेष्ठको बारीमा यतिबेला टमाटर, फूल गोभी, स्क्वास फर्सी, करेला, अकबरे खुर्सानी उत्पादन भइरहेको छ । बालीमा रसायनिक विषादी प्रयोगका सवालमा युरियासमेत आफूले प्रयोग नगरेको दाबी गर्ने श्रेष्ठ जैविक विषदी र मलमै निर्भर रहेको बताउँछन् ।

कृषकहरुले टनेलमा ब्यवसायिक तरकारी खेती गर्न गाह्रो हुने बताउने गरेको सुनिए तापनि कृषक श्रेष्ठ भने टनेलमै काम गर्न सजिलो र कम खर्च लाग्ने तर्क राख्छन् । सुरुमा ७ हजार लगानीमा सुरु गरेको ब्यवसायिक तरकारी खेतीमा टनेल निर्माण, थोपा सिंचाई, प्लाष्टिक पोखरी लगायतका भौतिक पूर्वाधार थप गर्दै अगाडि बढेका छन् । २ छोरी, एक छोरा र श्रीमान, श्रीमती गरी पाँच जनाको परिवारको सम्पूर्ण खर्च ब्यवसायिक तरकारी खेतीबाटै उठ्ने गरेको बताउने गाविन्दले नेपालमा उन्नत जातका तरकारीको बीउ, विजन नपाइएकोमा दुःख ब्यक्त गरे । आफूले ओमनबाट आउँदा ल्याएको काँक्राको बीउको उदाहरण दिँदै उनी भन्छन्, ‘ओमनबाट ल्याएको काँक्रा एउटै हाँगामा ६ देखि आठ ओटासम्म फल्यो, खाँदा स्वादमा पनि फरक छ ।’ केरावारी गाउँपालिकाबाट थोपा सिंचाई र प्लाष्टिक पोखरीमा अनुदान पाएका श्रेष्ठसँग १० वटा प्लास्टिक टनेल छन् ।

केरावारी गाउँपालिका कृषि विकास तथा सहकारी शाखाबाट कृषकहरुको क्षमता अभिबृद्धिसँगै अनुदानमा आधुनिक मेसिन औजार अनुदानमा वितरण गर्ने कार्यक्रम वनाएको छ । आगामि दिनमा कृषि उपज उत्पादनको खपतको समस्या नरहेको बताउदै दीर्घकालिन बजार ब्यवस्थापनका लागि कृषि सामाग्री आपूर्ति तथा कृषि उपज संकलन केन्द्रहरु स्थापनामा गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताउँछन् केरावारी गाउँपालिका कृषि तथा सहकारी विकास शाखाका प्रमुख टेकप्रसाद बाँस्तोला ।