इलाम। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ ।

सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सकिन्छ ।

निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो ।

ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र (अलैँची व्यवसायी सङ्घ)ले २०६७ सालदेखि गृहकार्य शुरु गरेको थियो । विभिन्न समितिमार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिह्न र अलैँचीको दाना राखिएको छ ।

ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैँची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले जानकारी दिए । ट्रेडमार्क कार्यान्वयनपछि नेपाली अलैँचीको गुणस्तर सुधार हुने व्यवसायीको भनाइ छ ।

“हामीले अन्तर्राष्ट्रिय बजारमा अलैँची पठाउँदा ट्रेडमार्कअनुसार गुणस्तरमा ध्यान दिनुपर्छ अन्यथा अलैँची निर्यात नहुन सक्छ”, महासचिव भट्टराईले भने।

ट्रेडमार्क कार्यान्वयनका लागि कानून व्यवसायी÷परामर्शदातामार्फत अलैँची निर्यात हुने मुलुकमा सन्देश पठाइएको छ । सरकारबाट लोगो जारी भएपछि भारत, पाकिस्तान र युएईमा ट्रेडमार्क पठाइएको थियो ।

“हाम्रोबाट मुख्य तीन देशमा बढी अलैँची जाने भएकाले यी देशमा पठाइहालेका हौँ”, भट्टराईले भने, “पाकिस्तानबाट चाहिँ लोगो स्वीकृति भएर आयो । अन्य देशमा प्रक्रियामा छ ।”

ट्रेडमार्क कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी (एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन ९सीसी०मा वर्गीकरण गरिएको छ ।

व्यवसायीले अलैँची निर्यातका क्रममा किसानसँग समेत वर्गीकरण छुट्याएर किन्नु पर्ने मापदण्ड रहेको महासङ्घका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।

तीनवटा मापदण्डमा छुट्याउँदा किसानले अलैँचीको मूल्य पनि मापदण्डअनुसारकै गुणस्तरअनुसार फरक÷फरक पाउने कार्कीको भनाइ छ ।

ट्रेडमार्क जारी भएलगत्तै विभिन्न मुलुकमा पठाए पनि ‘अत्यन्तै’ ढिला मात्रै प्रतिक्रिया आएको हो ।

“कानून व्यवसायीमार्फत काम गर्नुपर्छ । कस्तो प्रतिक्रिया आउँदैछ भनेर सोध्यौँ, ठिकै छ भन्नुहुन्छ । सबैकुरा बुझिँदैन”, महासङ्घका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, “पाकिस्तानबाट त हुन्छ भन्ने प्रतिक्रिया आयो अन्य देशबाट पनि आउँछ भन्ने प्रतीक्षामा छौँ ।” नेपालको अलैँची हालसम्म भारतकै ट्रेडमार्कमा निर्यात हुन्छ । नेपालबाट अलैँची पठाए पनि कतिपय देशमा ट्रेडमार्क नहुँदा भारतीय अलैँचीकै ब्राण्डमा चिनिन्छ ।

भारतमार्फत अहिले अलैँची निर्यात गर्नुपर्दा पटकपटक समस्या पर्ने गरेको छ । “भारत हाम्रो अलैँची जाने माध्यम पनि हो र प्रतिस्पर्धी पनि हो । त्यसैले समस्या आउँछ”, व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले भन्नुभयो, “तर ट्रेडमार्क कार्यान्वयनमा आएपछि भने केही सहज होला ।”

खाडी मुलुकमा ‘हलाल सर्टिफिकेट’ :

अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि ट्रेडमार्क कार्यान्वयनमा ल्याए पनि खाडी मुलुकमा भने नेपालबाट जाने अलैँचीमा उल्लेखनीय सुधार हुनुपर्ने व्यवसायीको भनाइ छ ।

खाडी मुलुकमा अलैँचीको मूल्य भने अन्य मुलुकको भन्दा बढी हुन्छ तर गुणस्तरीय बनाउन नसक्दा अलैँची नबिक्ने सम्भावना हुन्छ । “नाङ्गो हातले अलैँची टिप्न मिल्दैन र बास्नादार अलैँची चाहिन्छ”, महासङ्घका अध्यक्ष कार्कीले भने, “किसानलाई अलैँचीसम्बन्धी तालीमको खाँचो पर्छ । सबैतर्फबाट गर्नुपर्छ ।”

अलैँचीको गुणस्तर सुधार्नका लागि भने सरकारी निकायको चासो बढ्नु पर्ने कार्कीको भनाइ छ ।

“कृषिका राम्रै मान्छेलाई पनि अलैँचीको बारेमा अझै थाहा छैन । प्रोत्साहनका कार्यक्रम चाहिन्छ”, उनले भने, “भट्टी सुधारका कार्यक्रमसमेत चाहिन्छ ।” नेपालबाट ट्रेडमार्क लागेर गएपछि बिक्री भएको मुलुकमा बाहेक अन्य मुलुकमा अलैँचीको प्याकिङ खोल्न मिल्दैन ।

यसले गर्दा अलैँची व्यवस्थित हुने भएकाले अलैँची गुणस्तरीय हुने बताउनुहुन्छ कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेल । “अहिले हाम्रो ९५ प्रतिशत अलैँची भारत जान्छ । ट्रेडमार्क आएपछि भने भारतकै मातहतबाट जाने अलैँची पनि हाम्रै भनेर चिनिन्छ ।”

कति निर्यात हुन्छ अलैँची ?

सरकारले कृषिजन्य पदार्थको निकासीमा प्रवद्र्धन गरे पनि अलैँचीको निर्यात भने घट्दो क्रममा देखिन्छ तर सरकारको प्रथमिकता अलैँचीमा कम परेको व्यवसायी बताउँछन् । भारत निर्यात गर्दा भन्सार समायोजन नहुँदा पनि व्यवसायीले बढी रकम बुझाउनु परेको व्यवसायी बताउँछन् ।

भारतमा उत्पादन हुने अलैँचीमा भारतको सहयोग अत्यन्तै बढी छ तर नेपालमा भने किसानको मात्र प्रयत्नले अलैँची उत्पादन हुन्छ ।

आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।

आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणामले गिरावट आएको हो ।

रासस