ललितपुर। मल खरिदको बिषयलाई लिएर लेखा समितीले चासो देखाएको छ । सार्वजनिक लेखा समितिले मल खरिदमा भएको अनियमितता र अभावका सम्बन्धमा पत्र काट्दै जवाफ माग गरेको छ ।

गलत ठेकेदारलाई छनौट गरी मल खरिदमा चलखेल गरेको उजुरीपछि लेखा समितिले कृषि मन्त्रालयलाई ५ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।

समितिका सचिव रोजनाथ पाण्डेले कृषि मन्त्रालयलाई अघिल्लो साता लेखेको पत्रमा मलको माग र आपूर्तिको व्यवस्था, मागबमोजिम वितरणको अवस्था र छिमेकी मुलुकबाट गरिएको मल आयातको परिमाण, मलखादको सहज आपूर्ति तथा वितरणबारे मन्त्रालयको योजना र समयमा नै मल उपलब्ध गराउन चालिएका कदमको सम्बनधमा मन्त्रालयको धारणा र पुष्टि हुने कागजातसहितको विवरण उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

कृषि सामाग्री केन्द्रले फागुनमा मल ल्याउने भने पनि अहिलेसम्म उक्त मल आउन सकेको छैन भने मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले भने मल ल्याउने तयारीसमेत गरेको छैन । यता भने धान लगाउने बेलामा कृषकहरु मलको चरम अभाव झेलिरहेका छन् ।