यो समय लहरे बाली जस्तै फर्सी, लौका, काक्रो, घिरौला, चिचिन्दा, जुकिनी आदिमा फूल फुल्ने र चिचिला लाग्ने समय हो। यी लहरे बाली  कुकुरबिटेसि परिवार (Cucurbitaceae family) मा पर्ने गर्दछन् । झाङिदै गएपछि केहि समयको अन्तरालमा फूलहरु देख्न सकिन्छ । तर, ति फूलहरुमध्य पनि कुन फूलमा फल लाग्नसक्छ भन्ने जान्न आवश्यक छ । यसका लागि भाले पोथी फूलको पहिचान गर्न जरुरी हुन्छ र यो निकै सजिलो छ ।

कुकुरबिटेसि परिवारका प्राय बालिहरुमा एउटै बोटमा भाले र पोथी फूल छुट्टाछुट्टै लाग्ने गर्दछ । त्यसैले यी बालीहरुलाई सहवासी बाली (Monoecious plants) भनिन्छ र परागसेचनका (Cross pollination) माध्यमबाट फल लाग्ने गर्दछ । त्यसैगरी यसको परागकण (Pollen) टाँसिएर बस्ने र हावाको माध्यमबाट सजिलै परागसेचन (Pollination) नहुने हुनाले किराहरु विशेषगरी मौरी, भमरा आदिले परागसेचनमा ठुलो भूमिका खेलेको हुन्छ ।

भाले र पोथी फूलको पहिचान :

तस्बिरमा देखिएजस्तो भाले फूलमा लामो डंथेल (Pedicle) हुन्छ जस्ले फूललाई अरु अंग संग जोड्दछ । भाले फूलमा पत्रदल (Petals) भित्र लामो पुंगेकसर (Stamen) हुन्छ जस्ले परागकरण (Pollen) उत्पादन गर्छ । त्यैगरी पोथी फूलमा फूलको तलतिर गाना जस्तो फल (Baby fruit) देखिन्छ र पोथी फूलभित्र पिस्टिल (Pistil ) हुन्छ जस्मा अंडाशय (Ovule) हुन्छ । पराग सेचन पछी सोहि अंडाशय बढेर फलमा परिणत हुन्छ । यसरी हेरेर भाले र पोथी फूलह्र सजिलै चिन्न सकिन्छ ।

यो परिवारका तरकारीहरुमा भाले र पोथी फूलहरुको अनुपात (Ratio) कम हुने गर्दछ । प्राय १४ भाले फूलको अनुपातमा १ ओटा पोथी फूल फुल्ने गर्दछ । यस्तो अनुपातमा फल नलाग्ने हुन्छ । भाले र पोथी फूलहरुको अनुपातमा धेरै कुराले असर पार्दछ । जस्तै विरुवाको घनत्व बढी भएमा प्रतिस्पर्धा हुने गर्दछ र भालेफूल बढी लाग्ने गर्दछ । बालीमा जात अहिलेका ( वर्णशंकर / hybrid जातमा पोथी फूल बढी लाग्ने गर्दछ ) तापक्रम चिसोपना आदि ।

कृत्रिम पराग सेचन (Artificial pollination):

कौशी खेती र करेसा बारीमा कुकुरबिटेसि परिवारका तरकारी बाली लगाउँदा हातले पेन्ट ब्रसले वा कपास कान कलियों (cotton ear buds) का सहायताले पनि पराग सेचन गराउन सकिन्छ । हातले गर्दा सर्वप्रथम भालेफूल टिपी त्यसको पत्रदल (Petals) फालिदिनु पर्छ । त्यसपछि सो भालेफूललाई पोथीफूलमाथी लगि परागकणलाई टासिनेगरी पोथी फूलको स्टिग्मा (Stigma)मा सारिएको परागकणलाई किराले क्षती गर्न सक्दैन । त्यसैगरी सानो छेस्कोको एउटा टुप्पोमा नरम सफा कपास बेरेर अथावा कपास कान कलियों (cotton ear buds) को मदतले र पेन्टब्रसले पनि भालेफूलका परागकणलाई त्यसमा टिपेर पोथीफूलको स्टिग्माको टुप्पोमा र त्यसको वरीपरि सार्न सकिन्छ । कृतिम परागसेचन गर्दा बिहानको समय ( ७ देखि १० बजे सम्म ) र पानी नपरेको समयमा गर्नु उपयुक्त हुन्छ । नत्रभने पानीले परागकण बगाई परागसेचन असफल हुन जान्छ ।

हातबाट गरिने कृत्रिम परागसेचन :

१. फल सजिलै लाग्ने
२. फलको संङ्ख्यामा वृद्धि हुने
३. परागसेचनको कमिले चिचिला कुहिने समस्या नहुने
४. फल भित्रकाे बिउकाे सङ्ख्या बढ्ने
५. फल ठुला लाग्ने गर्दछ

3G cutting (3rd generation cutting/तेस्रो पुस्ता कटीङ्ग :

करेसा बारीमा साथै व्यवसायीक खेती गर्दा 3G कटिङ प्राय जसो कुकुरबिटेसि परिवार ( फर्सी लौका काँक्रो चिचिन्दा आदि ) र सोलानेसि परिवार ( टमाटर भान्टा ) मा गर्न सकिन्छ । कटीङ्ग भन्नाले बिरुवालाई तेस्रो पुस्ता (3rd generation) सम्म लगेर पोथी फूलको संङ्ख्यामा वृद्धिगरि त्यसबाट फल उत्पादन गर्नु हो । यसरी भाले र पोथी फूलहरुको अनुपात मिलाउन भाले फूलहरु कम गरी पोथी फूलहरुलाई बढाउन 3G कटिङ्ग गरिन्छ । विरुवा लगाईसकेपछि मूख्य लहरालाई पहिलो पुस्ता (1st
generation) भनिन्छ । यसमा धेरै भालेफूल र निकैकम मात्रामा पोथी फूल लाग्ने गर्दछ । भालेफूलको काम परागसेचन गर्नु हो र यसमा फल लाग्दैन भने फल चाहिं पोथी फूलमा मात्र लाग्ने गर्दछ । मूख्य लहराबाट आउने अरु साखा हाँगाहरु दोस्रो पुस्ता (2nd generation) हुन् र दोस्रो हाँगाबाट आएका साखा हाँगाहरु तेस्रो पुस्ता (3rd generation) हुन् । यसरी आएका पहिलो र दोस्रो पुस्ताका हाँगा काटी तेस्रो पुस्ताका हाँगाबाट उत्पादन लिनुलाई 3G कटीङ्ग विधि भनिन्छ ।

१. मूख्य लहरालाई राम्रोसंग ६ – ७ फिट बढ्न दिई ४ – ५ पात सम्म कुनै पनि शाखा हाँगाहरु राख्नु हुदैंन ( यसले मूख्य लहराको फेद बलियो हुनगई लहरालाई छिटो बढ्न मद्धत गर्छ ।
२. मूख्य हाँगा ५ – ६ फिट पछि टुप्पो काटिदिने ।
३. मूख्य लहराको टुप्पो काटेपछि यसका शाखा हाँगाहरु (2nd generation) बढ्न थाल्छन् जसलाई पारश्व प्रभुत्व (Lateral dominance) भनिन्छ ।
४. दोस्रो पुस्ताको हाँगामा पनि धेरै भाले फूलनै लाग्ने गर्दछ । त्यसैले यी हाँगा पनि ३ – ४ वटा मात्र राखी २ – ३ फिट लम्बाई पुगेपछि टुप्पो काटिदिने ।
५. यसरी दोस्रो पुस्ताको हाँगाहरुबाट पनि अरु शाखा हाँगाहरु आउँछन् जसलाई तेस्रो पुस्ता (3rd generation) का हाँगा भनिन्छ ।
६. यसरी आएका तेस्रो पुस्ताको हाँगाहरु भाले र पोथी फूलको अनुपात धेरै र बराबर जस्तैनैहुने गर्दछ करिब ( ४० : ५० देखि ५० : ५० यसले ) गर्दा बिरुवामा धेरै पोथी फूल लाग्दछन् र यी हाँगाहरुबाट धेरै फल उत्पादन गर्न सकिन्छ ।

यसरी एउटै बिरुवा ( लौका /काँक्रो ) बाट ५ गुणा बढी सम्म उत्पादन लिन सकिन्छ । तर्सथ त्यस्ता बाली लगाउँदा प्राकृतिक रुपले हुने परागसेचन कम भएको खण्डमा र फल नलाग्ने समस्या हुन नदिन यसरी कृतिम परागसेचन र 3G कटिङ्ग बिधि प्रयोग गरी बढी भन्दा बढी उत्पादन लिन सकिन्छ ।

लेखक : सुरक्षा बोहोरा M. Sc Agriculture (Plant Pathology)
South China Agricultural University
Guangdong, China