डोटी। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा संकलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन ।

लामो समयदेखि लकडाउन भएका कारण संकलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् ।

कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको व्यापारीको भनाइ छ ।
व्यापारीका अनुसार गाउँघरका किसानबाट संकलन गरिएको अदुवा निकासी, पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो ।

व्यापारीले किसानबाट फागुनसम्म अदुवा संकलन गरी चैत महीनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आए पनि लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीले बताए ।

उनले भने, ‘संकलित अदुवा हामीले चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका थियौँ । लकडाउनले निकासी गर्न नसक्दा गोदाममै थन्कियो । धेरै दिन थन्किए कुहिने डर छ ।’

व्यापारीले त्यहाँका गाउँ–गाउँबाट संकलित अदुवा महीनौँदेखि गोदाममै छन् । अदुवा निकासी ठप्प भएपछि जिल्लाबाट अदुवा लैजान नपाएको अदुवा संकलन गर्ने भारतीय व्यापारी राम गुप्ताले बताए । उनले भने, ‘लाखौँ रकम हालेर अदुवा संकलन गरियो । निकासी गर्नेबेला लकडाउन भएपछि गोदाममै थन्क्याउनु पर्‍यो । निकै घाटा भएको छ ।’

धेरै दिन त्यत्तिकै अदुवा गोदाममा थन्क्याए बिग्रने भएकाले अदुवा व्यापारीलाई चिन्ताले सताउनुका साथै लगानी डुब्ने डरले पिरोलिएको छ ।

बारीबाट खनेर अदुवा निकालेपछि धेरै दिन गोदाममा राख्दा तौल पनि घट्ने र कुहिएर जाने भएकाले व्यापारीलाई चिन्ता थपिएको बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताए ।

उनले भने, ‘अदुवा धेरै समय खुला ठाउँ तथा गोदाममा भण्डारण गरेर राख्दा करीब १० प्रतिशत तौल कम हुने गर्छ, समयमै व्यवस्थापन गर्न नसकिए यो वर्ष अदुवा व्यापारीलाई निकै घाटा हुने छ ।’ यतिमात्र नभइ भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा व्यापारीले खुल्ला सडकपेटीमा थुपारेका कारण दैनिक अदुवाको तौल घटिरहेको व्यापारीको गुनासो छ । त्यस्तै बजार क्षेत्रमा खुलारूपमा अदुवा राख्नु पर्दा चोरी हुने गरेको उनीहरुको भनाइ छ ।

बिपीनगरमा थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई–चार केजीभन्दा बढी अदुवा नास भएर गइरहेको स्थानीय लक्षमणबहादुर मगरले बताए । उनले भने, ‘बजारमा खुलारूपमा अदुवा राखिएको छ, कतिपय छाडा चौपायाले खाएर नोक्सानी गरेका छन् भने कतिपय चोरी हुन थालेको छ ।’

जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत वर्ष जिल्लामा २४० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट दुई हजार ५०० मेट्रिकटन अदुवा उत्पादन भएको थियो । यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत हो ।

अदुवा किसानका मागलाई बिगतदेखि सरकारले उचित सम्बोधन गर्न नसकेका कारण अदुवा खेतीप्रति किसान निरास हुनुपरेको अदुवा व्यवसायीको भनाइ छ ।