झापा। कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?”, फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भन्नुहुन्छ ।

स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुवै दृष्टिले राम्रो मानिन्छ । तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आउनुभएको छ । फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौँको कालीमाटी तरकारी बजारमा लगेर बिक्री गरिँदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्रसमेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताउनुभयो ।

हाल उहाँको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । बाँकी ५० हजार बोटमा जेठमा पाक्ने गरी चिचिला हुर्किरहेका छन् । चैत वैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।

सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट रु १८ लाख र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच लाख कर्जा लिएको बताउनुभयो । “उत्पादन बजारमा बिक्री गर्ने ‘पिक सिजन’मा लकडाउनले चौपट ग¥यो, यसपाली भुइँकटहर खेतीमा रु २२ लाख जति घाटा होला जस्तो छ”, उहाँ भन्नुहुन्छ । यस वर्षको चैत वैशाखमा भुइँकटहर प्रतिगोटा स्थानीय बजारमा रु ५० देखि रु ६० सम्म र काठमाडौँमा रु ७० सम्ममा बिक्री हुने उहाँको अपेक्षा थियो । तर अहिले फार्ममा आउने जोकोहीलाई उहाँले ठूलो घाटा सहेर प्रति गोटा रु २५ मै बिक्री गरिरहेको जानकारी दिनुभयो । फार्ममै आएर फाट्टफुट्ट किन्ने थोरै रहेका छन् ।

लकडाउनले पु¥याएको क्षतिबारेमा गुनासो सुनाउने र मर्म बुझिदिने कुनै निकाय नपाएको उहाँको गुनासो छ । “भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई समस्या सुनाएको थिएँ”, फार्म सञ्चालक सिंहले भन्नुभयो, “उहाँले काठमाडौँ लैजाने भए गाडीको पास बनाइदिन्छु भन्नुभएको छ ।” कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि हाल झापामा दर्जनौँ स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन् ।

राहत सामग्रीको रूपमा चामल र दाल वितरण कार्य भइरहेको छ । फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरुका लागि र राहत बाँड्नका लागि भुइँकटहर किनिदिने व्यवस्था हुने हो भने आफूले ठूलो राहत पाउने अपेक्षा राख्नुभएको छ । भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको हुँदा यसको सेवन स्वास्थ्यवर्धक हुने उहाँको जिकिर छ ।

तस्बिरः चन्द्रकला भण्डारी/रासस