
सर्लाही। हरिवनस्थित इन्दुशंकर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। गत पुस ११ देखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रूपैयाँ भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए।
पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो। जिल्लाकै उद्योगले यो सिजनमा हालसम्म २४ लाख ४८ हजार क्वीन्टल उखु क्रसिङ गरिसकेको छ । यो वर्ष ३५ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि पर्याप्त नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले बताए।
जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये इन्दुशंकर र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन्। किसानबाट अघिल्ला वर्षमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द छ। सरकारले दिने अनुदान वापतको रु ६५.२८ का दरले उखु किसानले पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको छ।
उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित भएपछि अनुदान वापतको रकम किसानलाई वितरण शुरु गरिने कोलेनिका मलंगवाका प्रमुख जगत थपलियाले बताए। सरकारले किसानले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित गरिदिन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।