ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रने आयातित तरकारीमा विषादीको मात्रा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पत्रकार भेट्घाट कार्यक्रममा उक्त जानकारी गराएको हो ।

समितिले २०७१ असारबाट कालीमाटीमा आयात हुने तरकारीमा विषादीको मात्रा परीक्षण सुरु गरेको थियो । बजार विषादी र्यापिड बायोएसे अफ पेस्टिसाइड रेसिड्युअल परीक्षण (विषादी अवशेष विश्लेषण) शाखाले दैनिक पाँच भन्दा बढी तरकारीको परीक्षण गर्दै आएको छ ।

समितिले विषादी परीक्षणको नमुनामा ३ वटा लेबल लगाउने गरेको छ । तरकारीको विषादी परीक्षण क्वारेन्टाइन तथा जीवनाशक विषादी परीक्षणका लेबलअनुसार विषादीको मात्रा ०–३५ पीपीएम (पार्टस् पर मिलियन अर्थात् प्रति १० लाखमा हिस्सा) भएको नमुनालाई हरियो लेबल लगाइन्छ । यस्तो तरकारीलाई खानयोग्य मानिएको छ ।

त्यसैगरी, विषादी मात्रा ३५–४५ पीपीएम भएको नमुनालाई पहेंलो लेबल लगाइन्छ । यस्तोलाई केही दिन स्टक गरी पुनः विषादीको मात्रा परीक्षणपछि मात्र प्रयोग गर्न सकिन्छ । तर, ४५ भन्दा बढी पीपीएम विषादी भएको तरकारी खान अयोग्य मानिन्छ । उच्च विषादी हुने यस्तो तरकारी नष्ट गरिने समितिले जनाएको छ ।

चालु आवको माघ २० गतेसम्म गरिएको एक हजार ४ सय २ नमुनामध्ये एक हजार ३ सय ८७ नमुना खानयोग्य, ३ वटा नमुना केही दिन स्टक गरी प्रयोग गर्न मिल्ने भेटिएको थियो । १२ वटा नमुना नष्ट गर्नुपर्ने परीक्षणमा देखिएको हो ।

समितिले दिएको जानकारीअनुसार २०७१ असार ५ देखि ३२ गतेसम्म शाखाले विषादी परीक्षणको कुल १८७ मध्ये १५५ नमुना खानयोग्य, ६ नमुना केही दिन स्टक गरी प्रयोग गर्न सकिने र २६ नमुना नष्ट गरेको बताएको छ ।