चितवन। देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग संकटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको शनिवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाल ह्याचरी उद्योग संघको केन्द्रीय समितिले शुक्रवार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै १० दिनसम्म चल्ला विक्री रोक्ने निर्णय गरेको बताएको छ ।

मंसिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट विक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ ।

निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा संघले समिति बनाएर अनुगमन गर्ने बताएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रू.५५ का दरले रू.३३ करोडभन्दा बढी नोक्सान हुने बताए ।

उनले व्यावसायीले गएको फागुन यता प्रतिचल्ला रू.२५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए ।

नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा विक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए ।

ह्याचरी उद्योग संघका केन्द्रय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताए ।

हाल कृषककोबाट जिउँदो कुखुरा रू.१२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य रू.२६० हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यावसायीले उत्पादन रोक्न लागेका हुन् ।

दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो रू. ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना रू. ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर विक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको बताए ।

नेपालमा कुखुरापालन क्षेत्रमा रू.१ खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने उनको भनाइ छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६/०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए ।

उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ ।

उनका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरुमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै २ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक छ ।