
दमौली। जिल्लाको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो ।
नगरपालिकाका १४ वटै वडाका करीब ३०० कृषकलाई १६ हजार ५०० केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको छ ।
प्रतिकिलो रु ५८ पर्ने जनकदेव आलुलाई रु २९ मा र प्रतिकिलो ६० पर्ने एमएस आलुलाई रु ३० मा वितरण गरिएको वाग्लेले जानकारी दिनुभयो ।
“अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौँ”, उहाँले भन्नुभयो, “कृषकको मागबमोजिम अनुदानमा बीउ बाँडेका हौँ ।” नगरपालिकाले काभ्रेबाट आलुको बीउ खरीद गरी ल्याएको हो ।
नगरपालिकाले वितरण गरेको आलुको बीउ करीब १८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करीब पाँच÷छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको अनुमान छ ।
बीज भण्डारबाट पनि कृषकले आलुको बीउ खरीद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलुखेती हुन्छ भन्ने आधिकारिक तथ्याङ्क भने नगरपालिकासँग नरहेको प्रमुख वाग्लेले बताउनुभयो ।
“आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो”, उहाँले भन्नुभयो ।
यसैगरी कृषि शाखाले च्याउ, हाते ट्र्याक्टर, साना सिँचाइ, मौरीगोला तथा घार, तरकारीखेतीका लागि प्लाष्टिक टनेललगायत पनि अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।
व्यास नगरपालिका–८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६०० केजी आलुको बीउ माग गरेकोमा ३०० केजी मात्रै पाएको बताउनुभयो ।
टोल विकास संस्थामार्फत ६० कृषकले आलुको बीउ खरीद गरेका छन् । समूहमार्फत आलुको बीउ खरीद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रुपमा आलुखेती गर्दै आएको मिश्रले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–१० खहरेस्थित मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीअन्तर्गत महिला समूहले ९०० केजी आलुको बीउ खरीद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिनुभयो ।
समूहले दुई वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ । गत वर्ष छ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले जानकारी दिनुभयो ।
गत वर्ष उत्पादित आलु समूहका ६० सदस्यलाई नै वितरण गरिएको थियो । “अब यो वर्षदेखि उत्पादित आलु बिक्री वितरण गर्ने सोच बनाएका छौं, अध्यक्ष सापकोटाले भन्नुभयो ।