कुनै पनि बिरुवाको जरा माटोभित्र फैलिएको हुन्छ । जराले माटोलाई समाउँछ र जमीनमा खडा हुन्छ । जराद्वारा नै तरकारीका बोटबिरुवाहरुले माटो भित्रबाट विभिन्न पोषकतत्वहरु प्राप्त गर्दछन् ।

माटोमा भएको चिस्यानमा बिरुवालाई आवश्यक पर्ने विभिन्न खनिज तत्वहरु घुलनशील अवस्थामा रहन्छन् । यी तत्वहरु बोटका जराले शोषण गरेर लिन्छन् र बोटका विभिन्न भागहरुमा पुरयाउँछन । त्यसकारण माटोको रसायनिक तथा भौतिक बनोट र माटोमा रहेका पोषक तत्वहरुले बिरुवाको वृद्धि र विकासमा सहयोग पुरयाउँछन । बिरुवा बढ्नुलाई बृद्धि भनिन्छ भने बढ्न छोडेर फुल्न तथा फल्न थाल्नुलाई विकास भनिन्छ ।

माटोका प्रकारहरु :

बलौटे माटो :
बालुवाको मात्रा लगभग ७० प्रतिशत वा त्योभन्दा बढी भएको माटोलाई बलौटे माटो भनिन्छ । धेरैजसो तरकारी बालीहरूका लागि यो माटो राम्रो हुँदैन । बलौटे माटोले पानी अड्याइ राख्न सक्दैन । धेरै पटक सिंचाइ गरिरहनु पर्दछ । यस्तो बलौटे माटोमा पानी पटाउना साथ पानी बगेर जमिनको तल्लो भागमा जान्छ र खनिज तत्वहरू पनि पानीसँगै बगेर जाने हुँदा हामीले दिएको मल बोट बिरुवाले पाउँदैन । तापनि बलौटे माटोमा खरबुजा, तरबुजा, लौका, परवर, फर्सीजस्ता गहिरो जरा जाने लहरे तरकारीहरू खेती गर्न सकिन्छ ।

बलौटे दुमट माटो :
यस्तो माटोमा बालुवाको मात्रा ४० देखि ६० प्रतिशतसम्म हुन्छ । यसमा सिल्ट र मसिनो पांगो माटो पनि मिसिएको हुन्छ । त्यसैले केही समय पानी अड्याएर राख्न सक्छ । यस्तो बलौटे दुमट माटोमा भएका खाद्य तत्वहरू बिरुवाले सजिलैसँग लिन सक्छ । धेरैजसो जरे तरकारीहरू मूला, गाजर, सलगम, प्याज, लसुन आदिका लागि यस्तो माटो राम्रो हुन्छ । यस्तो माटोमा गोडमेल गर्न र झारपात हटाउन पनि सजिलो हुन्छ ।

दुमट माटो :
यस्तो माटोमा २० देखि ४० प्रतिशतसम्म बालुवा हुन्छ । यस्तो माटोमा बालुवा, सिल्ट (माटोको थेग्रो) मसिनो माटोमा समान रूपमा मिसिएको हुन्छ । यसले धेरै समयसम्म पानी अड्याइ राख्न सक्छ र प्रायः सबै किसिमका खाद्य तत्वहरू बिरुवाले यसबाट पाउँछ । त्यसैले दुमट माटो तरकारी खेतीका लागि ज्यादै उपयुक्त हुन्छ । यो माटोमा खनजोत र गोडमेल गर्न पनि सजिलो हुन्छ ।

चिम्ट्याइलो माटो :
यो माटोमा १० देखि २० प्रतिशतसम्म मात्र बालुवा हुन्छ । बाँकी सबै सिल्ट र मसिनो माटो हुन्छ । यस्तो माटो सुख्खा अवस्थामा धेरै कडा हुन्छ । खनजोत गर्दा ठूल्ठूला डल्लाहरू निस्कन्छन् । पानी कम हुनासाथ चिरा पर्छ । भिजेको अवस्थामा धेरै चिप्लो हुन्छ यस्तो माटोले पानी धेरै समयसम्म अड्याइराख्न सक्छ । खनजोत गर्न अति गाह्रो हुन्छ ।

तरकारी खेतीका लागि त्यति उपयोगी हुँदैन । प्रशस्त प्राङ्गारिक मल राखेर यस्तो माटोको सुधार गर्न सकिन्छ । चिम्ट्याइलो माटोमा हावाको सञ्चार कम हुने भएकोले बारम्बार गोडमेल गरेर माटो खुकुलो राख्नु पर्छ ।

पांगो माटो :
यस्तो माटोमा बालुवाको मात्रा ज्यादै काम हुन्छ । मसिनो माटो र सिल्ट धेरै हुन्छ । यो माटो सबभन्दा कडा हुन्छ । यस्तो माटोमा धान खेती मात्र राम्रो हुन्छ । अन्य बालीहरू राम्रो हुँदैन ।

व्यवसायिक रूपमा तरकारी खेती गर्ने किसानले आफ्नो बारीमा कस्तो खालको माटो छ भनेर पहिले नै विचार गरेर तरकारी खेती शुरु गर्नु पर्दछ । वैज्ञानिक तरिकाले माटोको नमुना लिएर प्रयोगशालामा परीक्षण गराएर माटोको स्वास्थको प्रमाणपत्र बनाएर राख्नु पर्छ र समयसमयमा सोही अनुसार मल प्रयोग गर्नुपर्छ ।

रसायनिक मलको प्रयोग :

बोटबिरुवालाई बढ्न, हुर्कन र फलफूल लाग्न अठ्ठार प्रकारका पोषक तत्वहरूको आवश्यकता पर्दछ । तीमध्ये कुनै बिरुवालाई सबै र कुनै बिरुवालाई कुनै–कुनै तत्व मात्र चाहिन्छ । ती तत्वहरु सबै बराबर मात्रामा चाहिने होइन । कुनै तत्व धेरै र कुनै तत्व ज्यादै थोरै मात्रामा भए पनि पुग्दछ । बिरुवालाई आवश्यक पर्ने ती तत्वहरू हुन् – कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, जस्ता गन्धक, बोरोन, फलाम, म्याङ्गानिज, तामा, मलिडेनम, क्लोरिन, ब्रोमिन र सिलिका । कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फस्फोरस र पोटास बिरुवालाई धेरै मात्रामा चाहिन्छ ।

अन्य तत्वहरू थोरै मात्रामा आवश्यक पर्दछ । कार्बन, हाइड्रोजन र अक्सिजन बोट बिरुवाले हावा र पानीबाट लिन्छ । हामीले दिइरहनु पर्दैन । अरु सबै तत्वहरू माटोबाट प्राप्त गर्दछ ।

माटोबाट प्राप्त हुने तत्वहरू मध्ये नाइट्रोजन, फस्फोरस र पोटास अधिक मात्रामा चाहिने भएकोले गोबर मल, कम्पोष्ट मलका साथै अन्य अर्गानिक मल र रासायनिक मलको रूपमा बालीमा प्रयोग गरिन्छ । अन्य सूक्ष्म तत्वहरू आवश्यकताअनुसार रासायनिक मलबाट दिइन्छ ।

रासायनिक मल कल कारखानामा तयार गरिन्छ । गोबर मल वा कम्पोष्ट मल आफ्नै खेत बारीमा तयार गर्न सकिन्छ । हिजो आज अग्र्यानिक मल बजारमा खरिद गर्न पनि पाइन्छ ।

भटमास, केराउ, बोडी, सिमी र ढैंचाजस्ता कोसेबालीहरूले जराको गिर्खामा भएको ब्याक्टेरियाको सहयोगमा वायुमण्डलको खुला नाइट्रोजन सोसेर जरामा जम्मा गरी प्रयोग गर्दछन् । साथै, माटोमा समेत नाइट्रोजन थप्दछन् । यस प्रकार कोसेबालीहरूले माटोलाई थप मलिलो बनाउँछन् । मल दुई प्रकारका हुन्छन् – प्राङ्गारिक मल र अप्राङ्गारिक ।

प्राङ्गारिक मल भन्नाले गोठे मल, गोबर मल, कम्पोष्ट मल, गड्यौले मल, हरियो मल आदि हुन् । अप्राङ्गारिक मल भन्नाले कलकारखानामा तयार हुने रासायनिक मललाई बुझाउँछ ।

रासायनिक मल धेरै प्रकारका हुन्छन् । नाइट्रोजनयुक्त मलमा युरिया र अमोनियम सल्फेट बढी प्रचलनमा छन् । फस्फोरसयुक्त मलमा डि.ए.पी., सुपर फस्फेट आदि चलनचल्तिमा छन् । पोटासयुक्त मलमा म्युरेट अफ पोटास र पोटासियम सल्फेट मुख्य छन् । तरकारी बालीमा कहिलेकाहीँ सूक्ष्मतत्वयुक्त मल पनि प्रयोग गर्नु पर्ने हुन्छ । तिनीहरूमा बोरोन, जिङ्क, मोलिब्डेनम, जस्ता, मैङ्गानिज आदि प्रमुख हुन् ।

रासायनिक मलको प्रयोग विधि :
फस्फोरस र पोटास तत्वयुक्त रासायनिक मलहरू बाली लगाउन जग्गा तयार गर्दा एकनाससँग छरेर माटोमा मिलाउने । यसरी माटोमा प्रयोग गरेको रासायनिक मलबाट खाद्यतत्व बिरुवाले आफ्नो जीवन अवधिभर लिन सक्छ । जस्तै : सुपरफस्फेट, पोटास, कम्प्लेक्सल आदि । तर यी रासायनिक मलहरूबाट खाद्य तत्व प्राप्त गर्न माटोमा चिस्यान रहिरहनु आवश्यक छ । चिस्यान कम हुने र सिंचाइ गर्न नसकिने क्षेत्रमा रासायनिक मलको प्रयोग नगरे हुन्छ ।

नाइट्रोजन तत्व पानीमा घुलेर वा हावामा उडेर नष्ट हुन्छ । युरिया अथवा एमोनियम सल्फेट जस्ता नाइट्रोजनयुक्त मलहरू माटोमा धेरै दिन रहन नसक्ने भएकाले बोटबिरुवा उम्रेको वा सारेको २५–३० दिनपछि र फूल फुल्ने समयमा पटक–पटक गरी प्रयोग गर्नुपर्छ । खेत तयार गर्दा यो मल सबै प्रयोग गर्नुहुँदैन । यसरी बिरुवा हुर्कने बेलामा मल प्रयोग गर्ने तरिकालाई “टप डेसिङ्ग” भन्दछन् ।

टप डेसिङ्ग गर्दा बोटबिरुवाको पात र जरामा नपर्ने गरी जराको वरिपरि औंठी आकारमा माटो खोर्सेर युरिया वा एमोनियम सल्फेट मल राखी माटोले ढाकिदिनु पर्छ । रासायनिक मल दिँदा माटोमा चिस्यान हुन आवश्यक छ । एकै पटक बढी मल हालेमा बिरुवालाई जलाइदिने हुँदा कति मात्रा राख्ने भन्नेमा होसियार हुनु पर्दछ । विरुवाअनुसार मलको मात्रा फरक हुने हुँदा भरसक कृषि प्राविधिकको सल्लाह लिनु राम्रो हुन्छ ।

युरिया अथवा एमोनियम सस्फेटलाई पानीमा मिसाएर बोटबिरुवाको पातमा पनि छर्न सकिन्छ । तर एकदम थोरै मल राख्नुपर्छ । एकसय लिटर पानीमा एक वा दुई किलो युरिया मिसाएर छरे पुग्छ । युरिया धेरै मिसाएमा पात डढ्छ । पातमा छर्दा बिरुवाले मल पातबाट सोसेर लिन्छ । सूक्ष्म तत्वयुक्त मलहरू (बोरेक्स, अमोनियम, मौलिन्डेनम, एग्रोमिन आदि) बाली लगाउनुअघि माटोमा मिसाउनुपर्छ । अथवा झोलको रूपमा खडा बालीमा छर्कन सिफारिस गरिन्छ । यस्ता सूक्ष्म तत्वहरू प्रयोग गर्दा डिब्बा अथवा बोतलमा उल्लेख गरिएको मात्रा र विधिअनुसार प्रयोग गर्नुपर्छ ।

प्राङ्गारिक मलको प्रयोग विधि :
बोट बिरुवाको पात, हांगाविंगा, झारपात र घाँसमा पशुको मलमूत्र मिसाई तयार गरिएको मललाई प्राङ्गारिक मल भनिन्छ । हिजो आज गड्यौलाबाट पनि यस्तो मल तयार गरिन्छ । प्राङ्गारिक मल पनि धेरै प्रकारका हुन्छन् । जस्तैस् गोठे मल, गोबर मल, कम्पोष्ट मल, पीना, गड्यौली मल, जैविक मल आदि ।

गाईवस्तुका मलमूत्र, पात पतिङ्गर, घाँस र झारपात नमिसाई कुहाएर बनाएको मललाई गोबर मल अथवा गोठे मल भन्दछन् । गोबर मललाई राम्ररी कुहाएर हाल्नाले जग्गाको उर्वरा शक्ति बढ्दछ । तरकारीको उत्पादन बढ्छ । गोबर मल राम्ररी नकुहाएर काँचो प्रयोग गरेमा खुम्रे किराको प्रकोप बढ्छ । बिरुवाले काँचो गोबरबाट राम्रोसँग पोषक तत्व प्राप्त गर्न सक्दैन ।

मकै छर्नुभन्दा एक महिना अगाडि नै बारीमा मल छरेर राख्ने चलन छ । यसो गर्दा मलमा रहेको बिरुवालाई चाहिने तत्व हावामा उडेर जान्छ र घामले सुकाउँछ । बिरुवाले पाउन सक्दैन । त्यसैले बिरुवा छर्नु वा रोप्नुभन्दा एक दुई हप्ता अगाडि बारीमा मल राखेर तुरुन्त जोतेर माटोमा मिलाउनु पर्छ । कुखुराको सुली, घोडाको लिदी, बंगुर तथा भेडाबाख्राको मल आदि पनि प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न सकिन्छ तर यसलाई पनि खाल्डोमा राम्रोसँग कुहाएर मात्र प्रयोग गर्नुपर्छ ।

झारपात, पतिंगर, घाँस, सोत्तर घर आँगनका अन्य निष्कृय पदार्थहरू वा यिनीहरूलाई गोबर वा जोरन मिसाएर राम्रोसँग कुहाएर बनाएको मललाई कम्पोष्ट मल भन्दछन् । गोठेमलभन्दा कम्पोष्ट मल उच्च गुणस्तरको हुन्छ । तोकिएको नापको खाल्डो खनेर त्यसमा विभिन्न पदार्थहरू तह–तह लगाएर हरेक तहमा जोरन राखेर कम्पोष्ट मल बनाइन्छ । यसलाई पटक–पटक पल्टाउनु पर्छ । तलको माथि, माथिको तल गरेर सडाएपछि कम्पोष्ट मल बन्छ ।

एउटा ठूलो भाँडामा कुहाउने वस्तुहरू राख्ने । त्यसमा गड्यौला राखिदिने । समय–समयमा पानी दिने गरेर गड्यौला मल तयार गरिन्छ । कम्पोष्ट मलभन्दा गड्यौली मल छिटो तयार हुन्छ । यस्ता गड्यौला बजारमा खरिद गर्न पाइन्छ । केही किसानहरूले यस्ता गड्यौला बेचेर पनि राम्रै आम्दानी गरेका छन् ।

असुरो, तीतेपाती, एजोला झार आदि बारीको माटोमा मिसाएर पनि बारी मलिलो बनाउन सकिन्छ । यसलाई हरियो मल भन्दछन् । बारीमै रोपेर उमारेर बढाएर जोतेर माटोमा मिलाउनुपर्छ । बारीको कान्लामा भएको असुरोको पात टिपेर बारीमा राखेर पानीमा डुबाएर कुहाएर पनि मल बनाउन सकिन्छ । यसरी झन् सस्तो र राम्रो मल बनाउन सकिन्छ ।

प्राङ्गारिक मलका फाइदाहरू :

माटोमा प्राङ्गारिक वस्तुले हावा खेल्न सक्ने बनाउँछ ।
माटोको गुणस्तरमा सुधार गर्छ ।
माटोको उर्वराशक्ति सन्तुलित पार्छ ।
बिरुवालाई आवश्यक पर्ने सबै तत्व प्राङ्गारिक मलबाट पाइन्छ ।
यसले सूक्ष्मतत्वहरू पनि दिन्छ ।
रासायनिकमल बढी भए बिरुवालाई नोक्सान गर्छ तर कम्पोष्ट मल जति बढी भए पनि नोक्सान गर्दैन ।
मलको प्रभाव धेरै वर्षसम्म रहन्छ ।
माटोको पानी सोसेर राख्न सक्ने क्षमता बढाउँछ ।
घर सफासुग्घर रहन्छ ।
लामो समयसम्म सञ्चय गर्न सक्छ ।
रासायनिक मल हालेको तरकारी भन्दा प्राङ्गारिक मल हालेको तरकारी स्वादिलो हुन्छ ।
प्राङ्गारिक मलले अमिलो माटोलाई राम्रो बनाइदिन्छ ।
रासायनिक मल लगाएर उत्पादन गरेको तरकारी लामो समयसम्म सन्चित गर्न सकिँदैन । केही दिनमै कुहिने सम्भावना हुन्छ । तर प्राङ्गारिक मलबाट उत्पादित तरकारी अलि बढी दिनसम्म सञ्चित गर्न सकिन्छ ।
प्राङ्गारिक मल लगाएर उत्पादन गरेको तरकारीको स्वाद नै बेग्लै हुन्छ । यसले बजार भाउ पनि राम्रो पाउँछ ।
(जानकारी– टप डेसिङ्ग भनेको खडा बालीमा जरा जोगाएर युरियाजस्तो रासायनिक मल प्रयोग गर्ने विधि हो ।)

नोट:लेखक अधिकारीले कृषिमा एमएस्सी गरेका छन् ।
स्रोत : व्यवसायिक तरकारी खेती
पाँचपोखरी प्रकाशन गृह