डडेल्धुरा। कृषि ज्ञान केन्द्र डडेल्धुराले बगैँचा विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । केन्द्रको कार्यक्षेत्र डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा विभिन्न जातका फलफूलका १५ हजार बिरुवा वितरण गरिएको छ ।

दुईवटै जिल्लाका विभिन्न स्थानमा हावापानी सुहाउँदो मागअनुसारका अमीलो जातका साथै आँप, लिची, अनारलगायतका बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दीलबहादुर विष्टले बताउनुभयो ।

सरकारको फलफूल रोपन वर्षलाई सहयोग पुग्ने गरी किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा दिन थालिएको केन्द्रले जनाएको छ । अनुदानमा फलफूलका बिरुवा पाउन थालेपछि किसान पनि खुशी भएका छन् । मौसमअनुसारका फलफूलका बिरुवा सुपथरुपमा पाउने थालेपछि बिरुवा लगाउन कृषक उत्साहित बनेका डडेल्धुरा भागेश्वरका कृषक अर्जुन जोशीले बताउनुभयो ।

किसानलाई फलफूलका बिरुवा लगाउन प्राविधिक सहयोगसमेत ज्ञान केन्द्र डडेल्धुराले दिइरहेको वरिष्ठ कृषि अधिकृत विष्टको भनाइ थियो ।