
भरतपुर। अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा विक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक संघको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । संघका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रू. १८० तोकिएको छ ।
यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. २०० र मध्यमको रू. १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो’, उनले भने, ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो ।‘ उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।
वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रू. २९० बाट घटाएर रू. २०० कायम गरिएको थियो ।
बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि संघले प्रतिक्रेट रू. २०० मूल्य तोकेको जनाएको थियो ।
किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रू. १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रू. १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रू. ३६० सम्म पुगेको थियो ।
‘अण्डाको मूल्य घट्ने/बढ्ने भइरहन्छ’, कँडेलले भने,‘ बजारको अवस्था हेरेर रू.२५० देखि ३०० औशतमा मूल्य निर्धारण हुने गरेको छ ।’ कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ । एक साता अघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।
नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा १ लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । ७ हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रू. ८० अर्बभन्दा बढी लगानी रहेको छ ।