बाँके। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगन्ज नाकाबाट ३७ करोड मूल्यबराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रूपमा नेपालगन्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट ३७ करोड २३ लाख मूल्यबराबरका ६ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

यहाँबाट निकासी हुने जडीबुटी भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ । जडीबुटी निकासीको प्रमुख नाका भनिए पनि यो नाकाबाट निकासी बढ्नुका साटो प्रत्येक वर्ष घट्दो अवस्थामा छ । भारतको कडा नीतिका कारण हरेक वर्ष यसको निकासी घट्दै गएको जडीबुटी व्यवसायीको भनाइ छ ।

नेपाल जडीबुटी व्यवसायी संघको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार जडीबुटी निर्यात निकै खस्किएको छ । एकदशक अघिसम्म वार्षिक ७० लाख किलोग्राम जडीबुटी भारततर्फ निकासी हुने गरेकोमा हाल न्यून मात्र निर्यात हुने गरेको संघको तथ्यांक छ ।

आव २०७२/७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २१५ किलोग्रामका ४५ प्रकारका जडीबुटी निकासी भएको थियो तर आव २०७३/७४ मा घटेर ४० लाख ५० हजार ६७४ किलोग्राम जडीबुटी निर्यात भएको तथ्यांक छ । यसैगरी, आव २०७४/७५ मा २७ लाख ५४ हजार २ सय किलोग्राम जडीबुटी निकासी भएको भन्सार कार्यालयले जनाएको छ ।

जडीबुटीको निर्यातको अवस्था खस्किएको देखिएको संघका कार्यालय प्रमुख पुष्कर खरेलले बताए । उनका अनुसार टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भएको छ । औषधि, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बंगलादेशजस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको उनले बताए ।