नवपरासी। नवपरासीका किसानले भारतबाट भित्रिएको तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएर सडकमा पोखिदिएका छन् ।
स्वदेशी गोलभेँडाले नै मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै आक्रोशित किसानहरुले बिहीबार राति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की भन्ने ठाउँमा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् ।
किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क फोर्स’को करिब ५० जनाको टोली टमाटर पोख्न नवलपरासी पुगेको थियो । किसानहरुले भारतीय ३२ एटी १७२१ नम्बरको ट्रकमा सामान्य क्षति पुग्ने गरी तोडफोड समेत गरेका छन् ।
आफ्नो उत्पादनको भाउ नपाएका अवस्थामाम दैनिक ठूलो मात्रामा सस्तो भारतीय गोलभेँडा नेपाल भित्ररिहेको छ । त्यसैका कारण आफूहरुले उत्पादन गरेको गोलभेँडा फाल्न बाध्य भएकेो स्थानीय कृषले बताएका छन् ।
सरकारले स्वदेशी उत्पादनलाई बेवास्ता गरेर भारतबाट आयात गरेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । अझै पनि टमाटर भारतबाट ल्याइए नियन्त्रमा लिएर नष्ट गरिदिने किसान चौतारी नेपालका अध्यक्ष कृष्ण न्यौपानेले बताए ।
स्वदेशको उत्पादनले उचित मूल्य नपाउँदा किसानहरुले आत्महत्या गर्नु पर्नेसम्मको अवस्था सिर्जना भएको न्यापानेले बताए ।
उनका अनुसार किसान चौतारी नेपालले एक वर्ष अघि भारतबाट आयात हुने गोलभेँडालाई रोक्नकै लागि भनेर ‘किसान टास्क फोर्स’ नाम दिएर युवा दस्ता बनाएको थियो । न्यौपानेले सरकारले आफूहरुको माग पुर नगरे सिंहदरबारअघि ‘अत्महत्या’ गर्ने चेतावनी दिए ।









