थाइल्याण्ड। थाइल्याण्डले औषधि बनाउन तथा अनुसन्धान कार्यमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएको छ । नजिकिदै गरेको नयाँ वर्षको सार्वजनिक बिदा शुरु हुनै लाग्दा संसदको अतिरिक्त सत्रले मंगलवार हतारमा ‘नार्कोटिक ऐन, १९७९’ मा संसोधनको पक्षमा बहुमत दिएको थियो । योसँगै औषधीमा गाँजा प्रयोगको बाटो खुलेको छ । पीडा तथा थकान कम गर्न थाइल्याण्डमा गाँजाको प्रयोग गर्ने चलन थियो । तर सन् १९३० मा यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइयो ।

हालैका वर्षमा कोलम्बियादेखि क्यानडासम्म विश्वका कयौं देशहरुले औषधी बनाउन मात्रै होइन मनोरञ्जनात्मक गतिविधिमा समेत गाँजालाई कानूनी मान्यता दिइसकेका छन् । अमेरिकामा पनि वाशिंगटन डीसी, कोलोराडो, मिचिगन, क्यालिफोर्निया लगायत कयौं राज्यले गाँजा प्रयोगलाई वैद्य बनाएका छन् । तर दक्षिण पूर्वी एशियाका अधिकांश देशमा भने गाँजाको औषधीय प्रयोग समेत गैरकानूनी र बर्जित छ ।

यहाँ गाँजा प्रयोगमा लगाइएको प्रतिबन्ध उल्लंघन भएको भेटिएमा निकै कठोर सजाय भोग्नु पर्छ । सिङ्गापुर, इण्डोनेशिया र मलेशियामा त गाँजा तस्करहरुलाई मृत्यु दण्ड नै दिइन्छ । तर थाइल्याण्डले यसमा केही लचकता देखाएको छ । यद्यपि, उसको यो प्रयास विवादबाट अछुतो भने रहेको छैन ।

विदेशी कम्पनीहरुले आवेदन दिएको प्याटेन्ट अनुरोधको आधारमा उनीहरुले औषधिमा सहजै गाँजा प्रयोगको अनुमति पाएपनि थाइ बिरामी र अनुसन्धाताहरुको लागि भने यसको पहुँच अलि कठोर बनाइएको छ । त्यसैले गाँजालाई दिइएको कानूनी मान्यता त्यहाँ विवादमा आएको छ ।

नयाँ कानून कार्यान्वयनमा आउनुभन्दा पहिला नै गाँजाको प्रयोग सबैलाई सहज बनाउन सरकारसमक्ष माग राखिने र्‍याङसिट इन्ष्टिच्यूट अफ इन्टिग्रेटिभ मेडिशिन एन्ड एन्टी–एजिङका डिन पन्थेप पुखापोंगपानले भने । औषधिजन्य वस्तुमा गाँजाको प्रयोग गर्ने बाटो खुलेसँगै भविष्यमा मनोरञ्जनात्मक गतिविधिमा पनि यसको प्रयोगलाई मान्यता दिने आशा पनि मानिसहरुमा बढेको छ ।