इलाम। इलामका कृषकलाई अदुवाको भाउले यसपटक राहत मिलेको छ ।

निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि हजार रुपैयाँ प्रतिमन (४० किलो) का दरले अदुवा बेचेका किसानले यसपटक भने सन्तोषजनक मूल्य पाएका छन् । यो वर्ष दुई हजार पाँच सय हाराहारीमा प्रतिमन अदुवा बिक्री भइरहेको छ । चाडबाड मनाएर फसल उठाउन थालेका किसानलाई अदुवाको भाउले राहत अनुभूति भएको हो ।

इलामको माइजोगमाईस्थित प्रेमेजुङका भक्त खवास २ सय २५ मनभन्दा बढी अदुवा उत्पादन हुने अनुमान गर्छन् । उनले ४५ मन अदुवा रोपेका थिए । एकै सिजनको अदुवा बिक्री गर्दा ५ लाख ५० हजार रुपैयाँ हाराहारी आम्दानी हुने उनको अनुमान छ ।

किसानहरू अदुवाको भाउ अझै बढ्ने आशा लिएर बसेका छन् । उनीहरू २ हजार ७ सय रुपैयाँ पुगेपछि अदुवा बिक्री गर्ने मनसायमा छन् । बिउ राखेको अदुवा अहिलेको भन्दा बढी मूल्यमा बिक्री हुन्छ । बढी मूल्य पाइने भएपछि किसानले बिउको लागि समेत अदुवा राख्ने गरेका छन् ।

देउमाई नगरपालिका–८ जितपुरका रोम अधिकारी बारीमा अदुवा निकाल्दै गरेको भेटिए । २५ मन अदुवा फलाएका उनी अदुवाको राम्रो मूल्य पाउँदा दंग छन् । उनले भने, ‘यत्तिको भाउ पाउने हो भने किसानलाई समस्या हुँदैन ।’ भाउ राम्रो भएपछि व्यापारीहरू किसानको बारीमा नै पुग्ने गरेका छन् । अझ कति व्यवसायीले आफैँ खनेर अदुवा लैजाने गरेका छन् । अधिकारीले पनि गाउँकै व्यापारीलाई बारीमा नै मोलमोलाई गरेर अदुवा बिक्री गरेका हुन् ।

निर्यातमा समस्या छैन :
व्यवसायीलाई पनि यो सिजनमा अदुवा निर्यातमा समस्या छैन । अघिल्लो वर्ष विभिन्न बाहानामा भारतले अदुवा निर्यातमा अवरोध गर्दा व्यवसायीले ठूलै समस्याको सामना गर्नुप¥यो । तर, यसपटक अदुवा सहजै निर्यात भइरहेको बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले बताए । उनले भने, ‘यसपाली खासै समस्या भएको छैन । हामी अदुवा पनि पहिलेको भन्दा राम्रो बनाएर पठाउँछौँ ।’

नेपालमा उत्पादन भएको धेरैजसो अदुवाको बजार भारत हो ।

इलाममा उत्पादन भएको अदुवा झापाको धुलाबारी हुँदै भारतको सिलिगुडी निर्यात हुन्छ । इलाममा ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा अदुवाको खेती गरिँदै आएको छ । जिल्लामा मात्रै ११ लाख ४९ हजार ८ सय ५० मन अदुवा उत्पादन हुन्छ । अदुवाको निकासीबाट इलाममा दुई अर्ब ८७ करोड ४६ लाख रुपैयाँ भित्रिने गरेको छ ।