
बुटवल। निकै तामझामका साथ जिल्ला–जिल्लामा सुरु गरिएको ‘किसान कल सेन्टर’ बन्द भएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि व्यवस्थापन सूचना प्रणाली काठमाडौंको समन्वयमा देशभरका तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरुमा किसान कल सेन्टर स्थापना भएको थियो ।
किसानले फोन गर्दा पैसा नलाग्ने, फोनमार्फत नै किसानले जिज्ञासा मेट्न सकिने गरी ल्याइएको योजना तीन वर्ष नपुग्दै तुहिएको छ । हाल जिल्ला कृषि विकास कार्यालयहरु प्रदेशमातहतमा परिणत भई किसान ज्ञानकेन्द्र भएका छन् । तर, कतिपय जिल्लामा त किसान ज्ञानकेन्द्र नै छैनन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र स्थापना भएका छन् । यी कुनैमा पनि अहिले किसान कल सेन्टर कार्यान्वयनमा छैनन् ।
किसान कल सेन्टर कार्यान्वयनमा आएका बेला पनि ‘किसानले कल गरेको भनेर फेक रिपोर्ट बनाएर’ पेस गर्ने तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कर्मचारी किसान कल सेन्टर नै नभएपछि फुरुंग परेका छन् ।
कल सेन्टरमा किसानको अवाज रेकडिङसहित, किसानले चाहेको समयमा जिज्ञासाको समाधान गर्न एकजना कृषि अधिकृत र एकजना प्राविधिक सहायकको व्यवस्था गरिएको थियो । जसमा एकजना तत्कालीन जिल्ला कृषि विकास कार्यालयले करारमा लिएर राख्न सक्ने व्यवस्था पनि थियो ।
संरचना परिर्वतन भएसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएका सबै जिल्लाका किसान कल सेन्टर बन्द भएका हुन् । घरमै बसीबसी फोन गर्दा पैसा नलाग्ने जिल्ला तत्कालीन जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले व्यवस्थापन गरेको टोल फ्रि नम्बर १६६००७१५२००० अहिले बन्द छ । अहिले उक्त नम्बरमा फोन लगाउँदा ‘नम्बर मिलेन’ भनेर सन्देश प्राप्त हुन्छ ।
रुपन्देहीमा कृषि मन्त्रालयका कृषि सचिव उत्तमकुमार भट्टराईले किसान कल सेन्टरको उद्घाटन गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्दै आएका हाम्रो कृषि मोबाइल एप, कृषि मौसम सल्लाह सेवा बुलेटिन र एसएमएस सेवा पनि अन्योलमा छन् ।
काठमाडौंमा पनि कृषि मन्त्रालयले पैसा नलाग्ने फोन नम्बर १६६००१९५००० फोन किसान कल सेन्टरको रुपमा सञ्चालनमा ल्याएको थियो । कल सेन्टर बन्द भएसँगै करोडौं लगानी त डुबेको छ नै, मन्त्रालयले हप्तामा आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउविजन, मलखाद र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्न सक्ने गरी ल्याएको योजना अलपत्र परेको छ ।
किसान र कृषि व्यवसायीका बाली तथा पशुवस्तुका समस्यालाई आधुनिक सञ्चारमाध्यमको प्रयोगमार्फत विज्ञबाट समाधान गर्ने, सूचना प्रवाहमा भौगोलिक विकटताले पारेको असरलाई न्यूनीकरण गरी न्यायपूर्ण सेवा प्रवाह प्रणाली स्थापना गर्ने उद्देश्यका साथ किसान कल सेन्टर सञ्चालनमा ल्याइएको थियो ।
व्यावसायिक कृषि, उत्पादन, बजारीकरण र रोगको विषयमा आउने समस्याको समाधान गर्ने उद्देश्यसहित यो सेवा सुरु गरिएको थियो । अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवं अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसानसमक्ष पु¥याउन किसान ‘कल सेन्टर’ प्रयोगमा ल्याएको कृषि विकास मन्त्रालयले जनाएको थियो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव यमनारायण देवकोटाले तत्कालीन जिल्ला कृषि विकास कार्यालय रहेको स्थानमा कतै कुनै विभाग त कतै जोन कार्यालय बसेका कारण किसान कल सेन्टर बन्द भएको बताए । ‘कल सेन्टर तत्काल सञ्चालन गर्नु सकिने स्थिति छैन,’ उनले भने, ‘कार्यविधि बनाएर कृषि ज्ञानकेन्द्रमार्फत सञ्चालन गर्न सकिन्छ । सञ्चालन गर्नुपर्छ तर तत्काल सम्भव देख्दिन ।’
समाचार स्रोत : न्युज कारोबार