एजेन्सी। विश्वमा खाद्य वस्तुको मूल्य घट्ने क्रम जारी छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संस्था (एफएओ)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार अक्टोबरमा खाद्यान्नको मूल्य मापन गर्ने खाद्य मूल्य सूचक औसत १ सय ६३ दशमलव ५ अङ्क रहेको छ । यो सूचकमा एफएओले कमोडिटिज डालोेमा आवद्ध अन्न, तेलविजन, डेरीजन्य उत्पादन, मासु, चिनीलगायत वस्तुको मासिक भाउमा विश्वभर आउने परिवर्तन मापन गर्दछ ।

सेप्टेम्बरमा पनि सूचक २ दशमलव २ अङ्कले घटी १ सय ६५ दशमलव ४ अङ्कमा आएको थियो । मासु, डेरीजन्य उत्पादन र तेलको मूल्यमा आएको कमीका कारण समग्र खाद्य वस्तुको मूल्य घटेको एफएओले बताएको छ । एफएओले सेप्टेम्बरको मूल्य सूचकाङ्कमा संसोधन गरेर १ सय ६४ दशमलव ९ अङ्कमा झारेको छ ।

प्रतिवेदनमा एफएओले विश्वको अन्न उत्पादनको प्रक्षेपण बढाएको छ । सन् २०१८ मा विश्वभर अन्नको उत्पादन २ अर्ब ६० करोड १० लाख टन हुने अनुमान गरिएको छ । यो यस अघिको प्रक्षेपणभन्दा १ करोड टन धेरै हो । यद्यपि, यो गत वर्षको कीर्तिमानी उत्पादनभन्दा अझै पनि ५ करोड ७० लाख टन कम हुनेछ । यस वर्ष विश्वको गहुँ उत्पादन गत वर्षको तुलनामा ४ दशमलव ३ प्रतिशतले घटी ७२ करोड ८० लाख टनमा आउने प्रक्षेपण एफएओको छ ।