
काठमाडौं। नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिर्ने व्यवसायी राकेश अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
पीडितहरुले गृहमन्त्रालयमा व्यापारीविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएपछि काठमाडौं परिसरले उनलाई पक्राउ गरेको हो । परिसरका एक अधिकारीका अनुसार पक्राउ परेका अग्रवाललाई सम्बन्धित जिल्लामा पठाएर मुद्दा चलाइनेछ ।
अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रा.लि.ले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
उनका अनुसार नवलपरासीमा रहेको अग्रवालकै इन्दिरा सुगर एण्ड एग्रो प्रा.लि.ले पनि उखु किसानको ८ करोड ५८ लाख रुपैयाँ बक्यौता नतिरेको उजुरी परेको छ ।
वर्षौदेखि एकलमा रुपमा उद्योग सञ्चालन गरेर आफू मात्रै मुनाफा खाने र किसानमाथि ठगी गर्ने देखिएपछि पक्राउ गर्न आदेश दिइएको उनले बताए ।
अग्रवाललाई पक्राउ गरी बक्यौता तिराउन किसानले किटानी जाहेरी दिएका छन् । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक पटक ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा आएका थिएनन् ।
उनीमाथि ठगी र सार्वजनिक अपराध कसुर अन्तरगत मुद्दा चलाउने प्रहरीको तयारी छ ।