
धरान। कोशी पहाडी जिल्लामा उत्पादित कृषिजन्य उत्पादनको मुख्य व्यापारिक केन्द्र धरानको कृषि उपज बजारस्थलमा यो वर्षको दशैं अवधिभर करीब ५४ करोडको कारोबार भएको छ ।
बजारको तथ्याङ्कअनुसार दशैं अवधिभर अघिल्लो वर्षको दशैंभन्दा १५ प्रतिशतले कारोबार वृद्धि भएको छ । खसी बोका ४ हजारओटा खरीद विक्री हुँदा ४ करोड रुपैयाँको कारोबार भएको छ भने हरियो तरकारी प्रतिदिन ५ सय मेट्रिक टनको कारोबार हुँदा ५० करोड रुपैयाँको कारोबार भएको छ ।
सामान्य अवस्थाको भन्दा दशैंको समयमा दैनिक २ सय मेट्रिक टन बढी तरकारीको कारोबार भएको हो । सामान्य दिनमा बजारबाट औसत ३ सय १५ मेट्रिक टन कृषि उपजको कारोबार हुने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
तराईको उत्पादन र पहाडको उत्पादन बजारसम्म ल्याउन सहज भएकाले पनि यसवर्ष व्यापार बढेको भट्टराईको भनाइ छ । भट्टराईका अनुसार कुल कारोबारको २० प्रतिशत हरियो तरकारी भारत निर्यात गरिएको छ ।
कृषि बजार स्थलबाट भारतका लागि करीब १० करोड रुपैयाँको तरकारी, खसी बोका निर्यात गरिएको उनले बताए । दशैं लक्षित गरी कृषकले कृषिजन्य उत्पादन बजारमा ल्याउने भएकाले कारोबार उच्च हुने गरेको उनको भनाइ छ ।