ललितपुर। चिनी उत्पादक संघले पाँच दिन भित्र उखु किसानको बक्यौता रकम तिर्न नसक्ने जनाएको छ ।
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिन भित्र किसानको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाउनुुभयो ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रडिङ मार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताउनुुभयो ।
अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी विक्री हुँदा आफूहरुले किसानलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा आपत्ति जनाउनु भयो ।
किसानहरुको १ अरव ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ ।
संघले चिनीको मूल्य वृद्धि नभएको दावी गरेको छ । गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा विक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ ।
अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य सस्तिएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको स्पष्टिकरण दिनुभयो ।
बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरुको चर्को आलोचना गर्नुभएको थियो ।