नवलपरासी। एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्।

चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए।

किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले माग पूरा नभए असोज १२ देखि त्यस क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए।

किसानहरुले केही वर्षदेखि भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने, नेपाल सरकारले किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम एकमुष्ठ रुपमा समायोजन गरी भुक्तानी दिनुपर्ने र यस वर्षको उखुको मूल्य तोकी सरकारले भुक्तानी गर्ने तालिका समेत प्रकाशन गर्नुपर्ने माग राखेका छन्।

यस क्षेत्रका उखु किसानलाई बाग्मती सुगर मिल कुडियाले २८ करोड, इन्दिरा सुगर मिल लक्ष्मीपुरले १७ करोड र लुम्बिनी चिनी मिल सुनवललले एक करोड ५० लाख भुक्तानी गर्न बाँकी रहेको छ।