
ललितपुर। कृषि मन्त्रालयले कालिमाटी तरकारी तथा फलफूल बजारका ५१ वटा तरकारी स्टलको सम्झौता खारेज गरेको छ।
कारोबारमा संलग्न नभई दोस्रो व्यक्तिलाई भाडामा लगाइएका स्टलहरू खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ। सोमबार स्टलको सम्झौता खारेज गर्ने निर्णय गरिएको मन्त्रालयका सह–सचिव तेजबहादुर सुवेदीले जानकारी दिनुभयो।
यसअघि मन्त्रालयले ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो।
केही समयअघि नै बजारको अनुगमन गरी मन्त्रालयले त्यहाँका स्टलको वर्गीकरणसमेत गरेको थियो। जसअन्तर्गत स्टलहरुलाई रातो, निलो, पहेंलो र सेतो गरी चार तहमा छुट्याइएको थियो।
मन्त्रालयले रातो सूचीमा परेका ५१ स्टलको सम्झौता खारेज गरेको हो। मन्त्रालयले गरेको वर्गीकरणमा रातो सूची (खतरा) मा ९९, निलो (कम खतरा) मा १ सय ३१, पहेंलो (फाट्टफुट्ट नियम उल्लंघन गर्ने) मा २ सय ९ र सेतो (पूर्णरुपमा नियम पालना गर्ने) मा १ सय ५९ स्टल परेका थिए।
खारेज भएका स्टलहरूमा बजार क्षेत्रमा उपस्थित नहुने, कारोबारमा संलग्न नहुने, अन्य व्यक्तिलाई कारोबार गर्न दिएका, बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने, विदेशमा रहेको अवस्थामा अन्य व्यक्तिबाट कारोबार गरिरहेको र पसल भाडामा लगाएका लगायत छन्।
रातो सूचीमा परेका अन्य १६ वटालाई सुधार गर्ने सर्तमा सफाई दिइएको र अन्य २६ वटालाई सफाइ दिइएको मन्त्रालयले बताएको छ।