काठमाडौं। रेल नपाएपछि ३० हजार टन युरिया मल भारतको विशाखापत्तनममा रोकिएको छ । हाल धान खेतीको टप ड्रेसिङको समयका कारण युरिया मलको माग अत्याधिक भएको बेला रेल्वे र्याक नपाउदा आपूर्तिमा ढिलाइ भएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले ग्लोबल टेण्डरबाट इण्डियन पोटास लिमिटेडसंग ३० हजार टन युरिया मल खरिद गरेको हो ।

निर्धारित समयमा युरिया मल विशाखापत्तनममा आएपनि रेलको र्याक नपाउदा आपूर्ति हुन नसकेको कम्पनीले स्पष्टपारेको छ । मल बोकेको रेल्वे र्याक भदौ ९ र १० गते मा २ हजार ५०० टन नौतनवा, भैरहवा र २ हजार ५०० टन आईसीडी वीरगञ्जमा आईपुग्ने कम्पनीले जानकारी गराएको छ । बाँकी मल निरन्तर आउने कम्पनीले जानकारी गराएको छ । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ ।

यता बाँकेमा रासयनिक मल अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ ।

कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ ।

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डिएपी र पोटास मात्रै छ ।

कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गर्छन् । पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए। “ किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन,” उनले भने।

जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताए ।