एजेन्सी। बजारमा अब साङ्लोको दुध पनि भित्रिएको छ । यसलाई अनुसन्धानकर्ताले ‘सुपरफुड’ को सूचीमा समावेश गरेका छन् । साङ्लाले आफ्नो भ्रुणलाई ख्वाउनका लागि जुन ‘मिल्क क्रिस्टल’ उत्पादन गर्छन् त्यसमा अत्यधिक पौष्टिक तत्व पाइने अनुसन्धानकर्ताको दाबी छ ।

डेरी प्रोडक्टको एलर्जी हुनेहरुका लागि यो राम्रो विकल्प हुनसक्ने इन्डिपेन्ड डट को डट युकेले बताएको छ ।

इन्स्टिच्युट फर स्टिम सेल बायोलोजी र रिजेनेरेटिभ मेडिसिन, भारत, का अनुसार साङ्लाले आफ्नो भ्रुणलाई पोषण दिनका लागि उत्पादन गर्ने ‘दुध’ मानिसहरुले पनि पिउन सक्नेछन् ।

जर्नल अफ द इन्टरनेशनल युनियन क्रिस्ट्यालोग्राफीका अनुसार डिप्लोप्टेरा पंकटाटा भनिने प्यासिफिक बिटल कक्रोचको दुधमा पौष्टिक तत्वको खानी भएको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

‘क्रिस्टलको रुपमा उत्पादन गरिने साङ्लाको दुध एक पूर्ण आहारजस्तै हो । यसमा प्रोटिन, फ्याट र सुगर पाइन्छन्,’ एक अनुसन्धानकर्ता स्यानचारी ब्यानर्जीले टाइम्स अफ इन्डियालाई जानकारी दिइन् ।

‘यदि तपाईं प्रोटिनको राम्रो स्रोत खोजिरहनु भएको छ भने यसमा शरिरलाई आवश्यक सबै एमिनो एसिड पाइन्छन् ।’

यद्यपी, साङ्लोको दुध बनाउन सजिलो भने छैन । दुध निकाल्ने क्रममा साङ्लोको मृत्यु हुने भएकाले, एक गिलास दुध बनाउनका लागि थुप्रै साङ्लोको आवश्यकता पर्ने बताइएको छ ।

कुनै कम्पनीले यो ट्रेन्डलाई पहिले नै अपनाइसकेका छन् । साउथ अफ्रिकाको कम्पनी गौरमेट ग्रबले पहिले नै ‘एन्टोमिल्क’ ले आइक्रिम बनाएर बेचिसकेको छ । यो पालिएका किरा फट्याङ्गाको दुधबाट बनाइन्छ ।

‘दिगो, पौष्टिक तत्वले भरपुर, ल्याक्टोस नभएको दुध चाहनुहुन्छ भने इन्टोमिल्कलाई सम्झनुहोस्,’ कम्पनीको वेबसाइटमा भनिएको छ ।

गौरमेट ग्रबका अनुसार इन्टोमिल्कमा उच्च प्रोटिन तत्व छ र यो आइरन, जिंक र क्याल्सियमले भरिपूर्ण छ ।

गाई र भैंसीको दुधभन्दा फाइदाजनकः

अनुसन्धानका अनुसार साङ्लोको दुधमा वास्तविक क्रिस्टल पाइन्छ । यसमा गाई र भैंसीको दुधभन्दा बढी प्रोटिन पाइन्छ । यसमा एमिनो एसिड पाइन्छ । इन्टरनेशनल युनियन अफ क्रिस्ट्यालोग्रफीका अनुसार साङ्लोको दुधमा गाई भैंसीको दुधभन्दा तीन गुणा बढी इनर्जी हुन्छ ।