
काठमाडौं। कुखुरामा विभिन्न प्रकारका रोग फैलन नदिन रानीखेतविरुद्धको भ्याक्सिन उत्पादन हुने भएको छ । कुखुराका लागि भ्याक्सिन उत्पादन गर्ने नेपाली कम्पनी बायोभ्याकले सो भ्याक्सिन उत्पादन गर्न लागेको हो ।
‘कुखुरालाई कुनै पनि रोग नलागोस् भन्ने उद्देश्यले हामीले रानीखेत नामक भ्याक्सिन उत्पादन गर्न लागेका हौँ,’ सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का कार्यकारी निर्देशक दिवेश कर्माचार्यले भने ।
उनले पहिलो चरणमा भ्याक्सिन उत्पादन गर्ने र लगत्तै भ्याक्सिनलाई ट्याब्लेटमा परिणत गर्ने बताए । गाउँगाउँसम्म भ्याक्सिन पु-याउन समस्या हुने भएकाले ट्याब्लेटमा रूपान्तरण गर्न लागेको संस्थाले जनाएको छ ।
सिएमडिएनले कुखुरामा लाग्ने विभिन्न रोगको अत्याधुनिक उपकरणबाट परीक्षण र अनुसन्धान गर्दै आइरहेको छ । यही क्रममा कुखुरापालक किसानको समस्यालाई मध्यनजर गर्दै विदेशी दातृ निकायहरूको सहभागितामा भ्याक्सिन उत्पादन सुरु गर्न लागेको सो संस्थाले जनाएको छ ।
कर्माचार्यका अनुसार आगामी एक वर्षभित्र रानीखेत भ्याक्सिन उत्पादन भइसक्नेछ । रानीखेतविरुद्धको भ्याक्सिनलाई ट्याब्लेटमा परिणत गर्न लागेको भने नेपालमा पहिलोपटक हो । नेपालमा उत्पादन हुने सो भ्याक्सिनको मूल्य दुई रुपैयाँ हाराहारीमा पर्नेछ ।