काठमाडौं। नेपाल हर्ब्स  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आगामी शुक्रबारदेखि आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योगबाणिज्य महासंघसँग सह–आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्न लागेको हो ।

‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम’ भन्ने नारा सहित यहिँ बैशाख २१ देखि २३ सम्म यस संघले मेला आयोजना गर्न लागेको जनाएको छ । मेला भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्रमा हुने संघले जनाएको छ ।

प्रत्येक वर्ष राष्ट्रिय जडीबुटी मेला नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा गर्दै आएको मेला यसपटक पनि सरकारी तबरको सहयोगमा मेला सम्पन्न हुने बताइएको छ ।

यस मेलाले नेपालमा उत्पादित औषधि जन्य जडिबुटीवाट निर्मित वस्तुहरुको पहिचान र व्यापार बृद्धिका लागि ठूलो मद्धत पुग्दै आएको छ । नेपालको मौलिक वस्तुमा बिषेश महत्व र ग्रामिण क्षेत्रका समुदायहरुको आर्थिक उपार्जनकालागि ८० प्रतिशत जनताको स्वरोजगार तथा आयश्रोत जडीबुटी क्षेत्रले नै ओगटेको अवस्थामा यसको महत्व र यसले अर्थतन्त्रमा पार्ने सकारात्मक असर निकै धेरै रहेको छ ।